काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २ जनाको जीवित उद्धार गरिएको छ । उद्धार कार्यमा खटिएको टोलिले एकजना चिनियाँ नागरिक र एकजना नेपाली महिलाको उद्धार गरेको हो ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ ।
नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
त्यसैगरि भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फँसेकी एक महिलाको ११ दिनमा सकुशल उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा खटिएको टोलीले विदुर नगरपालिका–१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो ।
गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उनको उद्धार गरेको हो ।
उनी हिलोमा गाडिएको अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ पठाइएको छ ।
उद्धार गरिएका दुबैजनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
















प्रतिक्रिया