पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक र त्रासदी अझै मत्थर भइसकेको छैन । ठूलो जनधनको क्षतिसहित मुलुकलाई नै आक्रान्त पार्ने गरी भएको उक्त घटनाले नेपालको हिमालय क्षेत्रमा जुनसुकै बेला निम्तन सक्ने विपद्जन्य जोखिमलाई थप उजागर गरेको छ ।
हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्यासित घटना हुनसक्ने विज्ञहरुको चिन्ताबीच भोटेकोशी–त्रिशूली बाढीले भयावह विनाश मच्चाएको छ । शताब्दीकै ठूलो र विनाशकारी मानिएको यस विपत्तिपछि हिमालय क्षेत्रमा उत्पन्न हुनसक्ने विपद् र त्यसले तल्लोतटीय क्षेत्रमा ल्याउने सम्भावित विनाश र मानवीय सङ्कटले यतिबेला सबैलाई झस्काएको छ ।
अन्नपूर्ण हिमालको फेदबाट उत्पत्ति भएर कास्की, पवर्त हुँदै कालीगण्डकी नदीमा मिसिने मोदी खोलाले पनि यसपालिको मनसुनमा पटकपटक बाढीको रुप लियो । मानवीय क्षति नभए पनि व्यक्तिका घर, सम्पत्ति, सडक, जलविद्युत् केन्द्र आदिमा क्षति पुग्यो । कतिपय परिवार थातथलोबाट विस्थापित हुन बाध्य भए । यस क्षेत्रको मुख्य पर्यटकीय मार्ग बीरेठाँटी–घान्द्रुक सडक क्षतिग्रस्त हुँदा आउजाउ प्रभावित भएको छ ।
स्थानीयवासीका अनुसार गत असारयता मोदी खोलामा तीनपटकसम्म ठूलो बाढी आयो । पछिल्लोपटक गत साउन २८ गते राति गएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित बीरेठाँटी बजारका केही घर र सडक कटान गरेको थियो । “मोदी खोलामा मैले पहिलोपटक त्यति ठूलो बाढी आएको देखेँ”, ५५ वर्षीया रजनी गौचनले भनिन्, “अहिले पनि ठूलो पानी प¥यो कि रातभर जागा बस्नुपर्छ ।”
धार नै परिवर्तन गरेर मोदी खोला बजारतिर सोझिएपछि बीरेठाँटीबासी अझै पनि त्रस्त छन् । बाढीको कटानले बीरेठाँटी बजार जोखिममा परेको छ । बाढीले बगाएको बीरेठाँटी–घान्द्रुक सडक खण्डमा अस्थायी मार्ग खोल्ने काम भइरहेको छ । कटान नियन्त्रण गरी खोलालाई पुरानै बहावमा फर्काउन काम सुरु भएपछि त्रास केही घटेको होटल व्यवसाय गर्दै आएकी गौचनले सुनाइन् ।
“गत साउनकै जत्रो बाढी आए त कस्को के लाग्यो र तर बजारतिर आएको खोलाको धार पुरानै ठाउँमा गएकाले अहिले मन केही ढुक्क भएको छ”, उनले भनिन् । खोलाको कटान रोक्न नेपाली सेनाले तटबन्धसहित सडक पुर्ननिर्माणको काम गरिरहेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । सडक बनाउन गाउँपालिकाले ढुङ्गा÷उपकरण तथा गण्डकी प्रदेश सरकारले तारजाली उपलब्ध गराएको उनको भनाइ छ ।
उनका अनुसार बाढीले बीरेठाँटी–घान्दु्रक सडक छ ठाउँमा कटान गरेको छ । “आगामी असोज पहिलो सातासम्म सिधा यातायात सञ्चालन गर्ने गरी सडक पुर्ननिर्माणको काम भइरहेको छ”, अध्यक्ष केसीले भने, “मानवीय क्षति नभए पनि यसपालि मोदी खोलाको बाढीले धेरै सास्ती दियो, भौतिक क्षति पनि धेरै भयो ।”
भविष्यमा जुनसुकै बेला मोदी खोलामा ठूलो विपद् आउन सक्ने पूर्वसङ्केतका रुपमा अहिलेको बाढीलाई लिनुपर्ने उनको भनाइ छ । “यसपटकको घटनाले हामी सबैलाई झस्काएको छ, यसलाई खतराको घण्टीका रुपमा लिएर विपद् जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्छ”, अध्यक्ष केसीले भने । मोदी खोलाको मुहान अन्नपूर्ण हिमालको फेदमा रहेको र त्यस क्षेत्रमा जुनसुकै बेला उत्पन्न हुन सक्ने विपद्ले तटीय क्षेत्रमा अप्रत्यासित घटना निम्तन सक्ने उनले बताए ।
अन्नपूर्ण–१० का वडाध्यक्ष गौतम गुरुङले यसपटक मुहान क्षेत्र अन्नपूर्ण हिमालको फेददेखि नै मोदी खोलाले बाढीको रुप लिएको बताए। “माथिबाटै खोलाको बहाव बढेको थियो, तलतल आइपुग्दा बाढीको रुपमा लिएपछि धेरै क्षति पु¥यायो”, उनले भने, “अन्नपूर्ण हिमालबाट उत्पत्ति भएर मोदीमा मिसिने किम्रुङ र छुम्रुङ खोलामा पनि वर्ष पानीको सतह धेरै बढ्यो ।” मोदी खोला किनार हुँदै हालै निर्माण गरिएका कतिपय सडकले भू–सतह खल्बलाएका कारण पनि खोलाले सजिलै कटान गरेको वडाध्यक्ष गुरुङले बताए ।
गत असारको अन्तिम साता अन्नपूर्ण–११ स्थित किम्रुङ खोला हुँदै मोदीमा मिसिएको बाढीले वडा नं ८ र १० को सीमामा पर्ने स्याउली बजारमा एक घर, रेष्टुराँ र घान्द्रुक जोड्ने सडकमा क्षति पुगेको थियो । किम्रुङ खोलाले झोलुङ्गे पुल र निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामासमेत क्षति पु¥याएको थियो । अन्नपूर्ण क्षेत्रमा यसपालि मनसुनी विपद्का घटना धेरै भएको वडाध्यक्ष गुरुङले बताए ।
बाढीबाट सडक, पुललगायत भौतिक पूर्वाधारमा बढी क्षति पुगेको उनको भनाइ छ । बाढीले कास्की र पर्वततर्फका दुईवटा मेटल पुल, अन्नपूर्ण–११ स्थित पर्यटकीय तातोपानी कुण्ड क्षतिग्रस्त भएको छ । बीरेठाँटी–घान्द्रुक सडक अन्नपूर्ण आधार शिविर, घान्द्रुक, छुम्रुङ तथा घोडेपानी–पुनहिल जाने महत्वपूर्ण प्रवेशमार्ग भएकाले सडक तथा पुलमा पुगेको क्षतिले सर्वसाधारणसहित पर्यटकको आउजाउ र होटल व्यवसायमा असर परेको छ ।
गाउँपालिकाले बाढी प्रभावितलाई राहत तथा क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको छ । देशविदेशमा रहेका व्यक्ति, सङ्घसंस्था र विभिन्न सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई उक्त कोषमा सहयोग गर्न आग्रह गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पुनःनिर्माणका लागि रु २० लाख सहयोग गर्ने प्रतिबद्धता गरेको गाउँपालिकाले जनाएको छ ।
अन्नपूर्णका विभिन्न क्षेत्रमा अहिलेको मनसुनमा भएका बाढीपहिराका घटनाले प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त भूगोलमा रहेको यस गाउँपालिकाको संवेदनशीलता थप उजागर भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले यस वर्ष अन्नपूर्ण क्षेत्रमा भएको अधिक वर्षा र मोदी खोलामा पटकपटक आएको बाढीले सबैलाई सोचमग्न बनाएको बताए ।
उनले त्यस क्षेत्रको भौगर्भिक र वातावरणीय अध्ययनका लागि प्रदेश र सङ्घ सरकारलाई अनुरोध गरिएको बताए । “मोदी खोलाको बाढीले कुनै मानवीय क्षतिका घटना नभए पनि धेरै मात्रामा भौतिक क्षति भएको छ”, उनले भने, “मोदी खोलाको स्रोत पनि हिमाल हो, भोलि अरु ठूलो विपद् नआउला भन्न सकिन्न ।” अहिलेको बाढीले बीरेठाँटी, स्याउलीबजार, चिम्रुङ, हाइजुङलगायत क्षेत्र बढी प्रभावित भएको उहाँको भनाइ छ । भोटेकोशी–त्रिशूली नदीको विनाशकारी बाढीबाट पाठ सिकेर मोदी खोलाजस्ता सम्भावित जोखिमयुक्त क्षेत्रमा प्रयाप्त सावधानी र जोखिम न्यूनीकरणका उपाय अपनाउनुपर्ने उनले बताए ।
विपद् जोखिम न्यूनीकरण विज्ञ डा वसन्तराज अधिकारीले अन्नपूर्ण क्षेत्रमा जोखिम संवेदनशील भू–उपयोग योजना बनाउनुपर्ने बताए । विपद् जोखिम अध्ययन गरेर मात्र विकास निर्माणका गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । नदी र खोला किनारका अव्यवस्थित बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने डा अधिकारीले बताए । जलवायु परिवर्तन र उष्णीकरणले हिमाली भेगमा जुनसुकै बेला विपद्का घटना हुनसक्ने उनको भनाइ छ । “तापक्रम वृद्धिले हिउँ पग्लने र त्यहीँमाथि आकाशबाट पानी पर्दा मोदी खोलामा बाढी आएको हुनसक्छ”, उनले भने, “हाम्रा अधिकांश नदीनालाको स्रोत हिमाल हो, हिमपहिरो, हिमताल विष्फोट जस्ता कारणले जुनसुकै बेला बाढी आउन सक्छ, त्यसले तटीय क्षेत्रमा जाखिम ल्याउँछ ।”
जलवायु परिवर्तनका कारण एकै ठाउँमा छोटो समयमा धेरै पानी पर्ने र त्यसले बाढीपहिराका घटना निम्त्याउने गरेको उनको भनाइ छ । “हामीले सोच्दै नसाचेका ठाउँमा पनि बाढीपहिराका घटना भइरहेका छन्”, डा अधिकारीले भने, “पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिमबारे अध्ययन गरी सम्भावित विपद् रोक्न पूर्वतयारी गर्नुपर्छ ।”
हिमाली क्षेत्रको पर्यावरण खल्बलिँदा तल्लो तटीय क्षेत्र सधैँ जोखिमा रहने उनले बताए । भौगर्भिक अवस्था जटिल भएकाले नेपाल प्राकृतिक विपद्को चपेटामा पर्दै आएको उनको भनाइ छ । अव्यवस्थित विकास, प्रकृति दोहन आदि कारणले वातावरणीय सन्तुलन बिग्रन गई विपद्जन्य घटना निम्तने गरेका डा अधिकारीले बताए । खोला किनारमा बस्ती नबसाउन विज्ञहरुले पटक–पटक सुझाव दिँदै आए पनि उक्त समस्या अहिले पनि ज्यूँकात्यूँ रहेको उनको भनाइ छ ।
पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनमैत्री ढङ्गले काम गर्नुपर्ने उनले बताए । जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर नेपालको हिमालय क्षेत्रमा परेको र हिमताल विष्फोट, हिमपहिरा आदि कारणले कुनै पनि बेला विपद् निम्तन सक्ने हुँदा तटीय क्षेत्रमा सजगता अपनाउनुपर्ने डा अधिकारीले बताए । विकास गतिविधि सञ्चालन गर्दा वातावरणीय पक्षको बेवास्ता गर्न नहुने उनको भनाइ छ ।
बाढीपहिरा जस्ता विपद्का घटना बढ्दै जानुमा प्राकृतिक मात्र नभई मानवीय कारण पनि दोषी रहेको विज्ञहरुले औँल्याएका छन् । नदीनालामा आउने बाढीले जुनसुकै बेला मानिसको जीविकोपार्जनदेखि विकास पूर्वाधारलाई तहसनहस पार्नसक्ने विज्ञहरुको चेतावनी छ । पर्यावरणीय अध्यता कुलचन्द्र अर्यालका अनुसार सडक निर्माण गर्दा भिरालो जमिनको संवेदनशीलतालाई खल्बलाएर जथाभावी डोजर चलाउँदा पहाडी भेगमा पहिराका घटना बढिरहेका छन् । खोला तथा नदीमा भइरहेको उत्खनन्का कारण पनि बहाव बढ्ने र बाढी अनियन्त्रित हुने गरेको उनको भनाइ छ ।
कमजोर भू–बनोट, वनस्पतिविहीन नाँगो र भिरालो जमिन भएका कारण हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्ताउने गरेको छ । नेपाल पर्वतीय संवेदनशीलता बोकेको भूगोलमा अवस्थित रहेकाले प्राकृतिक स्रोतको उचित सदुपयोग र व्यवस्थापन गर्नुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।















प्रतिक्रिया