काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि भारतको सिक्किमबाट सहयोग प्राप्त भएको छ ।
सिक्किममा सङ्कलन गरिएको रु सात लाख १५ हजार १०४ बराबरको राहत रकम आज ठमेल पर्यटन विकास परिषद्लाई हस्तान्तरण गरिएको हो । सिक्किमस्थित अर्गनाइजेसन अफ म्युजिसियन्स एन्ड आर्टिस्ट्स अफ सिक्किम (ओएमएएस) तथा डर्टी एन्जल्स मोटरसाइकल क्लब (डीएएमसी), गान्तोकको समन्वयमा सङ्कलन गरिएको रकम आज परिषद्का अध्यक्ष राजुमान डङ्गोललाई हस्तान्तरण गरिएको हो ।
उक्त रकम सिक्किमका मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छेरिङ वाङचुक लेप्चा, सिक्किम सरकारको श्रम विभागका तथ्याङ्क अधिकृत पेम्बा चोपेल भुटिया, डीएएमसीका संस्थापक सदस्य केशाङ नोर्गे शेर्पा, उत्तर सिक्किमको काबी–हिङ्दा निर्वाचन क्षेत्रका एसकेएम पार्टीका युवा संयोजक छेवाङ भुटिया र नेपाल–भारत वाणिज्य तथा उद्योग सङ्घका महासचिव राजन शर्माले हस्तान्तरण गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले विपद्को समयमा मानवीय संवेदनालाई आत्मसात् गर्दै सिक्किममा राहत संकलन अभियान सञ्चालन गरी सहयोग गरेकोमा धन्यवाद दिए ।
परिषद्का अनुसार राहत सङ्कलन अभियानलाई सिक्किममा समन्वय तथा सहजीकरण गरी सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी परिषद्की कोषाध्यक्ष किन्चु लामु भुटिया श्रेष्ठलाई समेत धन्यवाद तथा प्रशंसा व्यक्त गरिएको छ । उक्त राहत रकममा परिषद्बाट रकम थप गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
लुम्बिनी प्रेस क्लब बाढी प्रभावित पत्रकारलाई सहयोग
लुम्बिनी प्रेस क्लब, रुपन्देहीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित पत्रकारका लागि रु एक लाख एक हजार १११ बराबरको आर्थिक सहयोग गरेको छ ।
बाढीमा परी ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै क्लबले भैरहवास्थित बुद्धचोकमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको हो ।
क्लबका संस्थापक अध्यक्ष माधव ढुङ्गानाले बाढीका कारण केही पत्रकार अझै बेपत्ता रहेको बताए । बाढीबाट सञ्चारकर्मीको घर, सम्पत्ति तथा सञ्चार सामग्रीमा क्षति पुगेको छ । क्लबका कोषाध्यक्ष विष्णुप्रसाद भट्टराईका अनुसार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमार्फत सहयोग रकम उपलब्ध गराइएको हो । उक्त रकम महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेललाई हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बुटवल हस्पिटल प्रालिले रु सात लाख ७७ हजार ७७७ आर्थिक सहयोग गरेको छ ।
अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल र सञ्चालक एवम् जनप्रतिनिधि नरिश्वर शर्माले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
अस्पतालले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकका परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
















प्रतिक्रिया