स्याङ्जा । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ । मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइटभन्दा तल रहेको पुल आइतबार बिहान बाढीले बगाएको हो ।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका कर्मचारी विष्णुप्रसाद न्यौपानेका अनुसार ड्याम क्षेत्रमा पानीको बहाव बढेसँगै पुल बाढीको चपेटामा परेको हो ।
गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले पनि पुल बाढीले बगाएको पुष्टि गरेका छन् । उनका अनुसार उक्त पुल बेलिब्रिजको स्वरूपमा थियो र चारपांग्रे सवारीसाधन आवतजावतका लागि प्रयोग हुँदै आएको थियो ।
भारी वर्षाका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएका छन् । आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ ।
बाढीले पुल बगाएपछि मिर्मी र हर्मिचौरबीचको सिधा आवतजावत प्रभावित भएको छ । पुलबाट आवतजावत गर्ने स्थानीय तथा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
कालीगण्डकी नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका क्षेत्रमा थप जोखिम हुनसक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको छ ।

















प्रतिक्रिया