काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा पोर्चुगल २-१ ले विजयी भएको छ । यस जितसँगै पोर्चुगल प्रतियोगिताको अन्तिम आठ अर्थात् क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ ४ अन्तर्गतको रोमाञ्चक खेलमा घरेलु टोली नर्वेले ३६औँ मिनेटमा अग्रता लिएको थियो । मार्टिन ओडेगार्डको क्रसलाई नियन्त्रणमा लिँदै ब्रेन्टफोर्डका डिफेन्डर क्रिस्टोफर अजरले डिबक्स बाहिरबाट उत्कृष्ट हाफ-भली गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, त्यसको दुई मिनेट नबित्दै नुनो मेन्डेसको लामो थ्रो–इनमा जोआओ कान्सेलोले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई १-१ को बराबरीमा ल्याए ।
खेल सकिन ११ मिनेट बाँकी छँदा जोआओ फेलिक्सको पासमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे । खेलको ८७औँ मिनेटमा विङ्गर फ्रान्सिस्को कन्सेइसाओले दोस्रो पहेँलो कार्ड पाएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको थियो ।
यसैबीच, नर्वे तथा म्यानचेस्टर सिटीका मुख्य स्ट्राइकर अर्लिङ हालान्ड घाइते भएका छन् । खेलको ६७औँ मिनेटमा चोटका कारण लंगडाउँदै मैदानबाट बाहिरिएका हालान्डको स्थानमा जोर्गेन स्ट्रान्ड लार्सन मैदान प्रवेश गरेका थिए ।
आगामी आइतबार प्रिमियर लिगमा लिभरपुलविरुद्धको महत्वपूर्ण खेलअघि हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटीलाई चिन्ता थपिएको छ ।
स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलको यो लगातार तेस्रो जित हो । प्रशिक्षक जर्ज जेससले रोनाल्डोले चाहेको खण्डमा पुनः राष्ट्रिय टोलीमा फर्कन सक्ने बताएका छन् ।
जितसँगै साविक विजेता पोर्चुगल समूह चरणमा दुई खेल बाँकी रहँदा दोस्रो स्थानमा रहेको डेनमार्कभन्दा ६ अंकले अघि छ । पराजित नर्वे भने समूहको पुछारमा रहेको छ ।
















प्रतिक्रिया