बुटवल । बुटवलमा चार जना युवाको करिब २ करोड रुपैयाँ लगानीमा १८डी मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आउने भएको छ । बुटवल आउने पर्यटक तथा स्थानीयवासीलाई मनोरञ्जनको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले उक्त मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।
नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी मनोरञ्जन केन्द्र सञ्चालनको तयारीबारे जानकारी दिएको हो । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्स रहेको पुरानो स्थानमा केन्द्र सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
बुटवलका प्रकाश भुसाल, दीपक ढकाल, सिद्धार्थविक्रम थापा र सुदीप काफ्लेले संयुक्त रूपमा उक्त व्यवसायमा लगानी गरेका हुन् । सञ्चालक दीपक ढकालका अनुसार केन्द्र आगामी कात्तिक १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ ।
बुटवलमा मनोरञ्जनका नयाँ गतिविधि थप गर्दै स्थानीयसँगै बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परियोजना अघि बढाइएको ढकालले बताए । उनका अनुसार केन्द्रमा १८ डी मुभी थिएटर र मिरर मेज मुख्य आकर्षणका रूपमा रहनेछन् ।
१८ डी मुभी थिएटरमा चलचित्र तथा दृश्य हेर्दा पर्दामा देखिने दृश्यसँगै विभिन्न विशेष प्रभावको समेत अनुभव गर्न सकिनेछ । चलचित्रमा देखाइने दृश्यअनुसारको प्रभाव महसुस गर्न सकिने भएकाले दर्शकका लागि फरक किसिमको मनोरञ्जन हुने ढकालले बताए ।
त्यस्तै, मिरर मेज अर्थात् भुलभुलैयामा चारैतिर ऐना जडान गरिएको संरचनाभित्र प्रवेश गरी बाटो खोज्दै मनोरञ्जन लिन सकिनेछ । ऐनाको प्रतिबिम्बका कारण एउटै स्थानमा धेरै बाटा देखिने भएकाले मिरर मेजमा फरक अनुभव लिन सकिने सञ्चालकले बताएका छन् ।
अर्का सञ्चालक प्रकाश भुसालले बुटवलमा घुम्न तथा मनोरञ्जन गर्न आउने आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य थपिने बताए । मनोरञ्जन केन्द्रले स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउनुका साथै बुटवल आउने पर्यटकलाई थप समय बिताउन आकर्षित गर्ने उनको भनाइ छ ।
बुटवलमा पछिल्लो समय पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित नयाँ व्यवसाय थपिँदै गएका बेला सञ्चालनमा आउन लागेको १८ डी मुभी थिएटर र मिरर मेजले यहाँको मनोरञ्जन क्षेत्रलाई थप विविध बनाउने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार मनोरञ्जन केन्द्रमा प्रवेशका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ टिकटदर निर्धारण गरिएको छ ।
















प्रतिक्रिया