काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिए पनि वर्षा र केही प्राविधिक कारणले मतदानको समय १० बजेका लागि सारिएको हो ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । प्रतिनिधिको सहजताका लागि काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
















प्रतिक्रिया