२४ आश्विन २०८३, शनिबार | October 10, 2026

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता



हेटौँडा । मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढेसँगै बडादसैँका यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्गमा सवारी व्यवस्थापन गरिएको जानकारी दिए । उनका अनुसार यात्रुवाहक सवारीसाधनपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीसाधनलाई प्राथमिकता दिइएको छ ।

धादिङको गल्छी क्षेत्रमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढेको उहाँले बताउनुभयो । त्रिभुवन राजपथ साँघुरो हुनुका साथै घुम्तीहरूमा ठूला सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ हुने भएकाले आलोपालो प्रणालीमार्फत सवारी सञ्चालन गरिएको छ ।

“यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएका छौँ । सडक साँघुरो र घुम्तीहरू अप्ठ्यारा भएकाले समय मिलाएर सवारी सञ्चालन गर्नुपरेको छ”, प्रमुख विष्टले भने । उनका अनुसार सवारी व्यवस्थापनका क्रममा कतिपय सवारीसाधनलाई एकदेखि दुई घण्टासम्म रोक्नुपर्ने अवस्था छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्धारण गरेको व्यवस्थाअनुसार त्रिभुवन राजपथमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न दिइएको छ । त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न रोक लगाइएको छ ।

साना यात्रुवाहक सवारीसाधनका लागि भीमफेदी सडकखण्डबाट आवागमनको व्यवस्था मिलाइएको प्रमुख विष्टले जानकारी दिए । हेटौँडाको चौकीटोलमा टाटा सुमो तथा विद्युतीय सवारीसाधनको पार्किङ र यात्रु चढाउने व्यवस्था गरिएको छ । भीमफेदी सडकखण्डमा साना सवारीसाधनको दोहोरो आवागमन भइरहेको, देउराली तथा जुरिखेतलगायत स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताए ।

यसैबीच, आइतबारदेखि सुरु हुने बडादसैँलाई लक्षित गरी हेटौँडा बसपार्क र चौकीटोलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । यात्रुबाट बढी भाडा असुल्ने, सवारीसाधन चढ्न समस्या हुने तथा सडकको अवस्थाबारे जानकारी लिनुपर्ने अवस्थालाई ध्यानमा राखेर सहायता कक्ष स्थापना गरिएको प्रमुख विष्टले जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि साँघुरा सडक, अप्ठ्यारा घुम्ती तथा जोखिमयुक्त स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ । चालकलाई तीव्र गतिमा सवारी नचलाउन, जथाभावी ओभरटेक नगर्न तथा सडकको अवस्थाअनुसार सावधानी अपनाउन सचेत गराइएको छ । कार्यालयमा उपलब्ध ट्राफिक जनशक्तिलाई सवारी व्यवस्थापनमा परिचालन गरिएको जनाउँदै प्रमुख विष्टले सडकको अवस्था र सवारी चापलाई ध्यानमा राखेर थप व्यवस्थापन गरिने बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १२ : २७ बजे

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा । मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत

विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म : गगन थापाको राजनीतिक यात्रा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्