२४ आश्विन २०८३, शनिबार | October 10, 2026

पहिरोका कारण म्याग्दीको महभिर गाउँ विस्थापित



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको महभिर गाउँ पहिरोका कारण विस्थापित भएको छ । ३० परिवारको बसोबास रहेको महभिरका सबै बासिन्दा पहिरोका कारण गाउँ छोड्न बाध्य भएका हुन् ।

महभिरका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका-८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले पहिरो प्रभावितहरू सिरुवारीमा अस्थायी शिविर बनाएर बस्न थालेका जानकारी दिए । “बस्तीदेखि तल ठूलो पहिरो छ, गाउँको बीचबीचमा पनि पहिरोले चिराचिरा पारेको छ । घरगोठका पर्खाल, आँगन चर्किएर बस्न सक्ने अवस्था छैन”, उनले भने, “गाउँनै पहिरोले बगाउने जोखिम भएकाले सिरुवारीमा अस्थायी शिविर बनाएर राखेका छौँ ।”

महभिरमा रहेको कक्षा ५ सम्मको पठनपाठन हुने चन्द्र आधारभूत विद्यालयलाई पनि सिरुवारीमा सारिएको वडाध्यक्ष गर्बुजाले बताए । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछि महभिरमा पहिरो सिर्जना भएको हो ।

वडाको विपद् व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनअनुसार महभिरसहित अन्नपूर्ण-८ वडामा पर्ने साविक राम्चे गाविसका ५२ परिवारका १२६ जना विस्थापित भएका छन् । पहिरोले घर बगाउँदा धारापानीमा सविन चोचाङ्गीको मृत्यु भएको र मनोज चोचाङ्गी बेपत्ता भएका छन् ।

ओखलखर्क झुम्रेखोरमा तीन, धारापानीमा चार, गाउँफाँटमा ११, थलथलेमा तीन र चिनारमा दुई घरका परिवार विस्थापित भएका काँफलडाँडाका अगुवा रवी गर्बुजाले जानकारी दिए । विस्थापितहरूलाई गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले उपलब्ध गराएको टेन्टमा शिविर बनाएर राखिएको छ ।

नागी र राम्चेको बिचमा पहिरो गएकाले पहिरो प्रभावित बस्न थालेको सिरुवारी जोड्ने सडक यातायात अवरुद्ध छ । विस्थापितलाई खाद्यान्न र राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । सवारीसाधनमार्फत बेनीदेखि मल्लाज, फलामेडाँडा हुँदै नागी पुर्याइएको राहत सामग्री स्थानीयवासीले पिठ्युमा बोकेर ढुवानी गर्ने गरेका छन् ।

पहिरोका कारण महभिर गाउँलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । उनका अनुसार तत्काललाई अस्थायी शिविरमा रहेका विस्थापितहरुलाई दीर्घकालीन रूपमा स्थानान्तरण र पुनःनिर्माण तथा पुनःस्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ५ : ४६ बजे

पहिरोका कारण म्याग्दीको महभिर गाउँ विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको महभिर गाउँ पहिरोका

भौतिक विकासले फेरिँदै भोजपुरको च्याङ्ग्रे क्षेत्र

भोजपुर । भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ । बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी