बुटवल । लुम्बिनी विकास कोषमा लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष पदमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको छ । असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा उनलाई कार्यकारी अधिकार समेत रहेको उपाध्यक्ष पदमा नियुक्त गरिएको हो ।
लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम आनीलाई लुम्बिनी विकास कोषमा पाँच वर्षका लागि उपाध्यक्ष पदको जिम्मेवारी दिइएको हो। यद्देपी आली विरुद्धका फर्जी नागरिकता र सम्पत्ति सुद्धिकरण सम्बन्धि दुई मुद्दा सरकारका बिभिन्न निकायमा बिचाराधिन अवस्थामा रहेको छ ।
लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार उपाध्यक्ष लुम्बिनी विकास कोषको प्रमुख प्रशासकीय पदाधिकारीसमेत हुने व्यवस्था छ।
आधुनिक गीत-संगीतमार्फत उनले बौद्ध भजन तथा मन्त्रलाई विश्वभर पुर्याएकी छन्। उनलाई ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणी पनि भनिन्छ। उनको जन्म सन् १९७० मा काठमाडौँमा भएको हो।
लुम्बिनी विकास कोषको उपाध्यक्ष पद लामो समयदेखि रिक्त थियो। नयाँ नियुक्तिसँगै लुम्बिनी क्षेत्रको विकास, व्यवस्थापन तथा प्रशासनिक कामले गति लिने अपेक्षा गरिएको छ।


















प्रतिक्रिया