२ कार्तिक २०८३, सोमबार | October 19, 2026

परदेशी घर फर्किए, दशैँले गाउँबस्तीमा बढायो रौनक



भोजपुर । नेपालीको महान् पर्व बडादशैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दशैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ ।

भोजपुरको ग्रामीण जीवनमा दशैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, बाटोघाटो सफा गर्ने, पिङ हाल्ने, मठमन्दिरमा पूजाआजा गर्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने चलनले पर्वको मौलिकता झल्काउँछ । दशैँका अवसरमा आयोजना हुने खेलकुदलगायत विभिन्न प्रतियोगिताले पनि गाउँघरमा उत्साह थप्ने गरेको छ ।

वर्षभरि कामको व्यस्तताले टाढिएका परिवारका सदस्य दशैँमा एकै ठाउँमा भेला भएर सुखदुःख साटासाट गर्ने, मीठोमसिनो खाने र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने तयारीमा जुटेका छन् । विशेषगरी रोजगारीका लागि जिल्ला बाहिर तथा अध्ययनका लागि सहरमा रहेका युवा-युवती घर फर्किएपछि परिवारसँग समय बिताउने अवसर पाएका छन् ।

दशैँका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल भोजपुरका मुख्य बजारमा बढेको छ । खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, फलफूल तथा पूजासामग्रीका पसलमा ग्राहकको आवागमन बढेको छ । सदरमुकाम भोजपुर बजार, दिङ्ला, घोडेटार र प्याउलीलगायतका बजारमा चाडपर्व लक्षित व्यापारिक गतिविधि बढेको छ ।

दशैँले स्थानीय कृषि उपजको बजारीकरणमा समेत सहयोग पु¥याउने गरेको छ । गाउँघरमा उत्पादन गरिएका खसीबोका, कुखुरा, तरकारी तथा फलफूलको माग बढ्दा किसानलाई आफ्नो उत्पादन बिक्री गर्ने अवसर मिल्ने टेम्केमैयुङ गाउँपालिका-५ का स्थानीय किसान देवबहादुर विष्टले बताए । चाडपर्वका बेला स्थानीय उत्पादनको माग बढ्दा किसानको आम्दानीमा सहयोग पुग्ने उनको भनाइ छ ।

दशैँका अवसरमा जिल्लाका विभिन्न शक्तिपीठ तथा धार्मिकस्थलमा पूजाआजा गर्ने परम्परा छ । पछिल्लो समय रोजगारी र अध्ययनका लागि युवा पुस्ता गाउँबाहिर जाने क्रम बढेसँगै परम्परागत चाडपर्व मनाउने शैलीमा परिवर्तन आउन थालेको छ ।

आधुनिक जीवनशैलीको प्रभावले कतिपय मौलिक चलन कमजोर हुँदै गए पनि दशैँले पुराना पुस्ताबाट नयाँ पुस्तामा संस्कृति, संस्कार र परम्परा हस्तान्तरण गर्ने अवसर प्रदान गर्दै आएको छ । परिवारसँगको भेटघाट, स्थानीय परम्पराको निरन्तरता र सामाजिक सद्भावसँग जोडिएको दशैँले भोजपुरका गाउँबस्तीमा आत्मीयता र उत्साह थपेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ८ : १४ बजे

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५

परदेशी घर फर्किए, दशैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । नेपालीको महान् पर्व बडादशैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति