काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तजनले दर्शन तथा पूजाआराधना गर्न पाउने गरी खुला गरिएको हो ।
हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार सरोकारवाला निकायसँगको छलफलपछि मन्दिर खुला गर्ने निर्णय गरिएको हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा दर्शन गर्न हजारौँ भक्तजन पुग्ने गर्छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार गत असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे तुलजा भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । त्यसै दिन बिहान १०ः३९ बजे देवीलाई स्थिरासनमा राखिएको थियो ।
तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजा गर्ने परम्परा छ । हेरचाह अड्डाका अनुसार उक्त पूजाका अवसरमा ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिन्छ ।
विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर पूजाआराधना गरिनेछ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन समितिले दिएको साइतअनुसार बिहान १०ः५१ बजे देवीको यात्रा गराइने र ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने जनाइएको छ ।


















प्रतिक्रिया