३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा



सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी-किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल-चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूला-ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रुपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो ।

किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर-दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो । सोही आग्रह अनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गण अन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली सम्लग्न भएको आयोजनाले जनाएको छ । श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा खटिएको सैनिक टोलीले विष्फोटन (ब्लास्टिङ) मार्फत् ठूला-ठूला विशाल चट्टानहरूलाई ससाना टुक्रामा विभाजन गरेको थियो भने आयोजनाले उक्त चट्टानहरू हटाएर सडक पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार पहिरोमा खसेका ठूला चट्टान हटाउन सामान्य उपकरणले सम्भव नभएपछि विस्फोटक पदार्थ समेत प्रयोग गर्नुपर्ने परेको थियो । नेपाल–चीन व्यापारीक सम्पर्कका प्रमुख नाका रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका प्राकृतिक विपद् तथा सडक अवरोधका कारण आवागमन र पारवहन प्रभावित भइरहेका छन् । यस्तो अवस्थामा किमाथाङ्का सडकखण्डमा यातायात सेवा पुनःसञ्चालन हुँदा थप सहज हुने अपेक्षा गरिएको छ । साथै उत्तरी सीमासम्मको पहुँचको महत्त्वलाई थप उजागर गरेको छ ।

आयोजना प्रमुख गुरुङले भने, “भोटखोला २ स्थित छुम्सुरमा ठूला चट्टान सहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो । चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो ।” सडक अवरुद्ध हुँदा दैनिक आवागमन, सामान ढुवानी तथा स्थानीय जनजीवनमा समेत समस्या उत्पन्न भएको थियो । सडक आयोजना कार्यालयले अन्य सडक खण्डमा नियमित मर्मतसम्भार गरेर यातायात सञ्चालन भइरहेको जनाएको छ । कोशी क्षेत्रको सडक सञ्जाललाई उत्तरी सीमावर्ती क्षेत्रसम्म जोड्ने रणनैतिक रुपमा महत्वको रुपमा रहेको यस सडकमा वर्षायाममा पहिरो र चट्टान खस्ने जोखिमले यातायात सञ्चालनमा चुनौती थपिँदै आएको छ ।

भौगोलिक रूपमा अति विकट कडा चट्टान भएका कारण खाँदबारी-किमाथाङ्का सडकखण्डको १ सय ६२ किमी मध्ये १०.८ किमी सडक निर्माणको जिम्मा सरकारले सेनालाई दिएको थियो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माण सम्पन्न गरेर गत बैशाखमा हस्तान्त्ररण गरेको थियो । उत्तरी क्षेत्रमा पर्ने किमाथाङका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । किमाथाङ्का-जोगबनी खण्ड छिमेकी देश चीन-भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । किमाथाङका-जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासी लाभान्वित हुनेछन् ।

सडक आयोजनाको सक्रियताले राष्ट्रिय पूर्वाधारको सञ्चालन कायम राख्नुका साथै दुर्गम क्षेत्रका नागरिकको सहज आवागमन र जनजीवनलाई सहयोग पु¥याएको जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ७ : २७ बजे

बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी-जोमसोम-कोरला

फ्रान्सका प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु, २ हजार ५०० भन्दा बढी पक्राउ

पेरिस । सप्ताहान्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सका अधिकारीहरूले

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र

अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा

सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी-किमाथाङ्का सडकखण्ड सोमबार

आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।