३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका



काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् । अहिले दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन् । दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उनले जानकारी दिए ।

दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।

दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए ।

उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । “यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो”, उनले भने।

चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने तथा यात्रु र सवारी चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना कम गर्न सकिने उनको भनाइ छ ।

दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् । उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेसँगै राजधानीका सडक, बसपार्क तथा बाहिरी नाकामा चहलपहल बढेको जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ११ : ०४ बजे

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन