८ कार्तिक २०८३, आइतबार | October 25, 2026

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न



ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक विधि र परम्पराका साथ सम्पन्न भएको मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले जानकारी दिए ।

“गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीक मानमानेश्वरी भवानीको पायो जात्रा एक महत्वपूर्ण संस्कृति हो, आस्था, श्रद्धा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतको अनुपम उत्सव हरेक वर्ष हर्षोउल्लासका साथ मनाइने प्रचलन छ, ललितपुरको ऐतिहासिक सांस्कृतिक परम्परासँग अभिन्न रूपमा जोडिएको यो जात्राले हाम्रो धार्मिक विश्वास, गुठी परम्परा र सामुदायिक एकतालाई जीवन्त राख्दै आएको छ”, अध्यक्ष श्रेष्ठले भने ।

अध्यक्ष श्रेष्ठका अनुसार मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ । जात्राको मुख्य आकर्षण देवगण वा गुठियारहरूले हातहातमा खड्ग (तरवार) बोकेर परम्परागत पहिरन र मुकुण्डो लगाएर बाजागाजाका साथ सहर वा बस्ती परिक्रमा गर्नु हो ।

पायो (खड्ग) जात्रा ललितपुरको पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीन संस्कृति बोकेको सबैभन्दा पुरानो परम्परागत जात्रा हो । नवमीका दिन महालक्ष्मीस्थानबाट थसिमलः पायो जात्रा सञ्चालन गरिएको थियो भने दशमीको साँझ मूलचोकबाट मंगलबजार चौबाटोमा श्री भवानी र श्री नवदुर्गाबीचको पावन मिलन गरी त्रयोदशीका दिन मानमानेश्वरी भवानीलाई मूल चोकबाट मुछेँ आगम घरमा पुनः विराजमान गराएपछि पायो जात्रा सम्पन्न भएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने, “यो केवल एउटा जात्रा मात्र होइन, हाम्रो पहिचान हो । हाम्रा पुर्खाको विरासत हो । यो हामीले हाम्रो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमुल्य सांस्कृतिक सम्पत्ति हो । यस वर्ष जात्रा सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ, अर्को वर्षका लागि सहज बनाउन हामीले के गर्नु पर्छ, सरोकारवालाहरुको सुझावअनुसार गर्नुपर्ने त्यो सबै काम गर्छौँ ।”

उनले आर्थिक अभावका कारण समुदाय र समाजको जीवन्त इतिहास बोकेको ऐतिहासिक, पौराणिक जात्रा पर्वहरु सञ्चालनका लागि आर्थिक अभाव र कठिनाई हुन नदिन ललितपुर महानगरपालिकाले हरतरहले सहयोग उपलब्ध गराउने बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ७ : ४३ बजे

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

दमौली । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ