नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न थालेको छ । छोटो उकालो यात्रा अनि रोमाञ्चक दृश्यावलोकनले आन्तरिक तथा बाह्य पर्यटकका लागि सो क्षेत्र पर्यटकीय आर्कषण थलो बनेको हो ।
उक्त स्थान राप्तीसोनारी गाउँपालिका–७ मा पर्छ । पदयात्राकाका क्रममा पर्यटकले त्यहाँ रहेका झरना, गुफालगायत नेपालगञ्ज, नरैनापुर र भारतका विभिन्न सहरका दृश्यावलोकन गर्न पाउने पर्यटन उद्यमी श्रीराम सिग्देलले जानकारी दिए ।
उनका अनुसार नेपालगन्जबाट करिब आधा घण्टाको दूरीमा सजिलै त्यहाँ पुग्न सकिने र छोटो उकालो पदयात्रामा खजुर, भक्कीम्लो, कुसुम, बडहरलगायतका फलफूल र विभिन्न प्रजातीका वनस्पतीसमेत देख्न पाइन्छ । सिग्देलले त्यस क्षेत्रमा स्थानीय सरकारले लगानी गर्न आग्रह गर्दै भौतिक पूर्वाधारको विकास आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने, “करिब दुई घण्टा उकालो र उरालो पदयात्राका क्रममा मैले त फरक अनुभूति गर्न पाए, यो आफैँमा एउटा संस्कृति हो ।”
सिग्देलले नेपालगन्ज आउने पर्यटकको बसाई लम्बाएर उनीहरुलाई पदयात्रामा लैजाने वातवरण तय हुन सके त्यसबाट लाभ लिन सकिने उल्लेख गर्दै पर्यटन प्रवर्द्धन गर्न घरबास कार्यक्रमसमेत विस्तार गर्न सकिने बताए । बाँकेको चुरे क्षेत्रको सबैभन्दा बढी उचाइमा रहेको यस क्षेत्रमा गरुडबाबा र निर्माणाधीन महाकालेश्वर मन्दिर रहेको छ ।
समुद्री सतहदेखि ५०० मिटरको उचाइमा रहेको उक्त पहाडमा चिसो तापक्रमका कारण पर्यटक पदयात्रामा जाने गरेको स्थानीयले बताएका छन् । नेपालगञ्जमा जुनसुकै साधनबाट पनि फत्तेपुरको भेलुनिया गाउँ हुँदै त्यस क्षेत्रमा जान सकिन्छ ।
बाँके निकुञ्जमा जङ्गल सफारी सुरु
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पाँचै वटा रुट (वनपथ) बाट सफारी सुरु भएको निकुञ्जका अधिकृत विज्ञान वलीले जानकारी दिए । उनका अनुसार त्यहाँ वन्यजन्तु अवलोकन, जङ्गल भ्रमण र प्राकृतिक सौन्दर्यको अनुभव लिन चाहने आन्तरिक तथा बाह्य पर्यटक सफारीमा आउने गर्छन् ।
पाटेबाघ र दुर्लभ वन्यजन्तुका लागि परिचित बाँके राष्ट्रिय निकुञ्जमा सफारीसँगै पर्यटकको आगमन बढ्न थालेको गाभर भ्याली होमस्टेका सञ्चालक कृष्ण थारूले जानकारी दिए । उनका अनुसार प्रकृति र वन्यजन्तुमा रुचि राख्ने पर्यटकका लागि सो क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । सफारीका लागि त्यहाँ चार जीप रहेका छन् । यहाँ पाटे बाघ, चितुवा, हात्ती, गैँडा, जरायो, बँदेललगायतका वन्यजन्तु हेर्न पाइने निकुञ्जले जनाएको छ ।

















प्रतिक्रिया