१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

हिमपातपछि डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, हिमपातले उद्धारमा कठिनाइ



सुर्खेत । डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य शे-फोक्सुन्डो क्षेत्रमा भ्रमणका लागि गएका ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातपछि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष रहेका छन् ।

शे-फोक्सुन्डो गाउँपालिका-८ स्थित नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् । नेपाल भ्रमणमा आएका उनीहरू रिग्मोस्थित फोक्सुन्डो तालतर्फ जाने क्रममा सम्पर्कविहीन भएका हुन् ।

स्थानीयबाट सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेको छ । तर, लगातारको हिमपात र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको जनाइएको छ । उनीहरू सुरक्षित स्थानमा छन् वा हिमपातका कारण बाटोमै रोकिएका हुन् भन्नेबारे यकिन विवरण प्राप्त हुन सकेको छैन ।

हिमपातले खोजी तथा उद्धारमा चुनौती

डोल्पाका उच्च हिमाली क्षेत्रमा शनिबारदेखि हिमपात भइरहेको छ । शे-फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका उच्च क्षेत्रमा हिमपात भएको छ भने तल्लो डोल्पामा वर्षा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लगातारको हिमपातले उच्च क्षेत्रका पदमार्ग तथा आवागमन प्रभावित भएको छ । नुमला र वागला पासजस्ता उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जम्दा आवतजावत कठिन बनेको छ । यसले पर्यटकको अवस्था पत्ता लगाउन र उद्धार टोली परिचालन गर्न थप चुनौती सिर्जना गरेको छ ।

मौसम प्रतिकूल हुने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले माथिल्लो डोल्पामा पदयात्रा नगर्न आग्रह गरेको थियो । प्रशासनले कात्तिक १२ गतेदेखि उच्च जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न सूचना जारी गर्दै जोखिमपूर्ण स्थानमा रहेका पर्यटकलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार माथिल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा २४४ जना पर्यटक पुगेका थिए । तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक थिए ।

सम्भावित हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले पर्यटकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई समन्वय गर्न आग्रह गरेको थियो । पर्यटक तथा पदयात्रा व्यवसायीलाई प्रतिकूल मौसममा जोखिमपूर्ण यात्रा नगर्न पनि सचेत गराइएको थियो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उच्च क्षेत्रमा पुगिसकेका पर्यटकको अवस्थाबारे जानकारी संकलन भइरहेको छ । आवश्यक परे उद्धार तथा राहतका लागि तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य संस्था र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतको तयारी अघि बढाएको जनाएको छ ।

फोक्सुन्डो ताल डोल्पाको प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहबाट करिब तीन हजार ६ सय मिटरभन्दा माथि अवस्थित यो ताल प्राकृतिक सौन्दर्य र हिमाली पदयात्राका कारण स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र रहँदै आएको छ । तर, उच्च हिमाली क्षेत्रमा मौसम एक्कासि परिवर्तन हुने र हिमपातका कारण पदमार्ग अवरुद्ध हुन सक्ने भएकाले यहाँको पदयात्रा जोखिमपूर्ण मानिन्छ ।

सम्पर्कविहीन भएका ६ भारतीय पर्यटकको खोजी तथा उद्धारका लागि थप विवरण संकलन भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ७ : ४२ बजे

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा आजदेखि टोल शुल्क, कुन सवारीलाई कति ?

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज आइतबार (कात्तिक

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित