नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको नेपालगन्ज गुलरिया हुलाकी राजमार्ग अन्तर्गतको खजुरा खण्डको सडक स्तरोन्नती भएसंगै सो सडक खण्डमा निजी क्षेत्रबाट धमाधम लगानी गर्ने क्रम पनि सुरु भएको छ । हुलाकी राजमार्गको नेपालगन्ज गुलरिया खण्डको विस्तार योजना सम्पन्न भएसँगै सो राजमार्गलाई आधार बनाएर औद्योगिक विकासको सम्भावनाको ढोका पनि खुलेको छ । सडक, सञ्चार र विद्युत तीनवटै औद्योगिक विकासका लागि आवश्यक पूर्वाधारहरु उपलब्ध भएसँगै राजमार्ग आसपासका क्षेत्रमा औद्योगिक सम्भावनाको ढोका खुलेको हो ।
विगतका कैयौ दशक अन्न भण्डारकारुपमा पहिचान बनाएको खजुरा रोडलाई सडक सञ्जालको अभाव, विद्युतको अनियमित आपुर्ति र सञ्चारको पुहँचबाट टाढा राखिएका कारण औद्योगित गति लिन सकेको थिएन । नेपालगन्ज गुलरिया हुलाकी राजमार्ग विस्तार एवम् स्तरोन्तीको काम पूर्णरुपमा सम्पन्न हुने अवस्थामा रहेसँगै खजुरा र हुलाकी राजमार्ग अन्तर्गतका सडक सञ्जाल नजिकै उद्योगहरुको स्थापनाले पनि तिब्रता पाएको छ ।
सोही सडक खण्डको जानकी ३ मानपुरमा पौवा ग्रुपले पाँचतारे होटल निर्माणको कामलाई तिब्रता दिएको छ भने खजुरा ५ गोदहाना नजिकै बहुराष्ट्रिय लगानीमा पार्ले-जी बिस्कुटको उद्योग धमाधम निर्माण भइरहेको छ भने, सोही सडक सञ्जाल प्रयोग हुने गरि बर्दियामा कर्णाली डिष्टिलरीका संचालकहरुले चिनी मिल (सुगरमिल) निर्माणको कार्यलाई पनि तिब्रता दिएका छन् ।
नयाँवर्ष २०८४ सालमा होटल पौवाको पाँचतारे होटल सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए । पौवाको २१ वटा शाखा मध्य बाँकेमा बन्दै गरेको होटल पहिलो पाँचतारे होटल हुने अध्यक्ष भण्डारीले बताए । ‘हुलाकी राजमार्ग भविश्यमा सुदूरपश्चिमलाई देशको मुल प्रवाहमा जोड्ने मुख्य राजमार्ग बन्ने निश्चित छ,’ उनले भने, ‘सिङ्गो सुदूरपश्चिम र भारतको उत्तराञ्चलबाट नेपाल प्रवेशको मुख्य मार्ग बन्ने सम्भावना देखेर नै पौवाले लगानी गर्ने निर्णय गरेको हो ।’

हुलाकी राजमार्गको सञ्चालनसँगै खजुरा क्षेत्रमा अन्य जिल्लाका लगानीकर्ताहरुको आकर्षण बढेको खजुराका पुराना ब्यवसायी शिवराज श्रेष्ठ बताउँछन् । ‘राजमार्ग स्तरोन्नतीको कार्य अन्तिम चरणमा पुग्दा नपुग्दै खजुराको ब्यवसायले सकारात्मक संकेत देखाइसकेको छ,’ उनले भने, ‘दशैतिहार पछि यस क्षेत्रमा लगानी भित्रिने क्रमले तिब्रता पाउने निश्चित छ ।’
उनले सडकको सुबिधा नभएकै कारण उद्योगी ब्यवसायिहरुको खजुरा आउन कम रुची रहने गरेको अव त्यस्तो नहुने बताए । सडकसँग जोडिएर उद्योगहरु खुल्नेक्रमको सुरुवात भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा त्यसले थप तिब्रता पाउने दाबी गरे । विमानस्थलको विस्थापनले खजुरालाई दिएको घाउ हुलाकी राजमार्गले पुर्न सक्ने उनको भनाई छ ।
हुलाकी राजमार्ग र खजुरामा बन्दै गरेको नेपाल विद्युत प्राधिकरणको सव-स्टेशनबाट खजुराको औद्योगिक विकासले नयाँ आयाम थप्न सक्ने खजुराका उद्योगी नेत्र रानाभाटले बताए । उनले मुख्य सडकसँगै जिर्ण रहेका भित्रि सडकहरु निर्माणमा स्थानीयतहबाट पहल हुन सके उद्योगीहरु खजुरा क्षेत्रमा थप आकर्षित हुने उल्लेख गरे । ‘उद्योगीहरुले मुल सडकको महङ्गो जग्गा खरिद गर्नु भन्दा सडक आसपासका भित्रि जग्गाहरुमा आकर्षित हुन्छन्,’ उनले भने, ‘त्यहाँसम्म पुग्ने भित्रि सडक स्थानीयतहले बनाइदिनु पर्छ ।’

खजुरा लगानीकर्ताहरुका लागि उपयुक्त स्थानकारुपमा विकास भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए । सुबिधासम्पन्न सडकसँगै आवश्यक उर्जा, सस्तो जमीन, उद्योगीहरुका लागि पर्याप्त सस्तो जनशक्ति खजुरामा उपलब्ध रहेको उल्लेख गर्दै अध्यक्ष विकले उद्योगी ब्यवसायीका बालबालिकाकाका लागि गुणस्तरयुक्त शिक्षा, स्वास्थ्य र सुरक्षाको स्थानीय सरकारबाट पर्याप्त पूर्वाधार तयार गरिएको बताए । धुक्क भएर खजुरामा लगानी गर्न उद्योगी ब्यवसायीहरुलाई आग्रह गर्दै उनले अवश्यक थप सहजिकरण गर्न पनि स्थानीय सरकार तयार रहेको जनाए । ‘स्थानीय सरकारले खजुरालाई पूर्ण लगानी मैत्री पालिका बनाएको छ,’ उनले भने, ‘उद्यमीलाई आवश्यक पर्ने सबै सुबिधा खजुरामा उपलब्ध छन्, हामी उद्योगीहरुको लगानीको प्रतिक्षामा छौं ।’
यसअघि नै खजुरामा पश्चिमाञ्चल ईट्टा उद्योग, बर्दियाको गुलरिया नगरपालिकामा सञ्चालनमा रहेको लेमिनार टायल उद्योग, चिनियाँ लगानीको मासु प्रशोधन केन्द्रसहित धानचामल उद्योगहरु सञ्चालनमा रहेका छन् ।
हुलाकी राजमार्गको खजुरा खण्डको स्तरोन्नती अन्तिम चरणमा :
विगतमा सडक डिभिजन अन्तर्गत रहेको खजुरा खण्डको १८०० मिटर सडक अघिल्लो वर्ष मात्र हुलाकी राजमार्ग निर्देशालयको जिम्मामा पुगे लगत्तै सडकको स्तरउन्नतीको थालनी भएको थियो ।
१६ मिटरको अक्सफाल्ट कालोपत्रे र करिव २ मिटरको फुटपाथ सहित स्तर उन्नतीको कार्य अन्तिम चरणमा पुगेको हुलाकी सडक निर्देशनालय, नेपालगन्ज कार्यालयले जनाएको छ । १ हजार ८०० मिटर सडक र त्यसै अन्तर्गत पेडारी नाला र किरण नालाको पुल निर्माणका लागि छुट्टाछुट्टै ठेक्का लगाएर काम थालिएकोमा पेडारी नालाको पुल (कल्भर्ट) को काम सम्पन्न भएको र किरणनालाको २ लेनको पुलको काम अन्तिम चरणमा पुगेको योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले बताए । ‘खजुरा खण्डको दाँया र बाँया २७ किलोमिटर सडक निर्माण सम्पन्न भएर सञ्चालन हुँदा खजुरा खण्ड अलपत्र अवस्थामा रहेको थियो,’ उनले भने, ‘हुलाकी राजमार्ग निर्देशनालयबाट ठेक्का लगाएर अहिले स्तरउन्नतीको अन्तिम चरणमा पुगेको छ ।’
४ लेन सडक निर्माण गर्ने भन्दै २०७४ सालमा सडक डिभिजनबाट ठेक्का लगाइएकोमा ठेकेदार कम्पनीबाट गुणस्तरहिन र अधुरो काम गरेर बीचमै सडक अलपत्र पारेपछि हुलाकी सडकमा यात्रा गर्ने यात्रीहरुले विगत ९ वर्षदेखि सास्ती खेपिरहेका थिए । सडकको स्तरउन्नती अन्तर्गत सडकको स्तरोन्नती भएसँगै सो सडकमा यात्रा गर्दा सास्ती खेपिरहेका यात्रुले राहत पाउने भएका छन् ।
यसअघि सडक डिभिजनबाट काम भइरहेको सो सडक खण्डलाई हुलाकी राजमार्ग निर्देशनालयले जिम्मा लिएर स्तर उन्नती गर्न थालेको हो । खजुरा र गुलरिया खण्ड बाहेकको करिव २७ किलोमिटर सडक भने यसअघि नै हुलाकी सडक निर्देशनालयको योजनामा सम्पन्न भइसकेको छ । शर्मा एण्ड कम्पनीले ठेक्का लिएको १ वर्ष अगावै स्तरउन्नतीको काम सम्पन्न गरेको हो ।
सडक स्तरोन्नती भएसँगै खजुरा बजारको पहुँच पनि बढेको खजुरा बजारका स्थानीय दिपक ढकालले बताए । उनले पक्की सडकको अभावमा ८ किलोमिटरको दूरीमा रहेको नेपालगन्ज पुग्न १ घण्टा लाग्ने बिगत अव छोँटिएर १०-१५ मिनेटमा सिमित भएको बताए । नन्दनीमिलबाट धम्बोझी चोकसम्मको सडक बिस्तार छिटो हुन सके खजुरा क्षेत्रको चहलपहल अझै बढ्ने उनले बताए ।
हुलाकी राजमार्गको योजना कार्यालयले धम्बोझीदेखि नन्दनी मिलसम्मको ९०० मिटर सडक बिस्तारको पनि ठेक्का खोलिसकेको छ । सो सडक स्तरोन्नतीकालागि हिमसगरमाथा कन्ट्रक्सन प्रालिले ३९ करोड, ८४ लाख १ हजार २१९ रुपैयाँमा ठेक्का कबोल गरेको छ । कुनै अवरोध नभए १ वर्ष भित्र धम्बोझी देखि बर्दियाको सदरमुकाम गुलरियासम्म ४ लेन सडकबाट यात्रा गर्न सकिने योजना प्रमुख भण्डारीले बताए ।
पेडारी नालामा बन्यो नयाँ पुल
सोही सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने ७० वर्ष पुरानो पेडारी नालाको पुल निर्माणको काम पनि सम्पन्न भएको छ । ५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ३४ मिटर लामो र २२ मिटर चौडाई रहेको पुल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताए ।
नयाँ निर्माण भएको पुल २२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको छ । यसैगरी पुलको दुवैतर्फ ५० मिटर एप्रोच सडकपनि कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । ६० वर्ष पुरानो पेडारी नालामा रहेको पुल जिर्ण भएका कारण कुनैपनि बेला दुर्घटना हुन सक्ने अवस्था रहेको थियो भने हरेक वर्षको वर्षयाममा पटक पटक बाढीका कारण सडक अवरुद्ध हुने गरेको थियो ।
हुलाकी राजमार्ग निर्माण भएसँगै नेपालगन्जबाट धनगढी, टिकापुर र महेन्द्रनगर यात्रा गर्ने यात्रुहरुले हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् । साबिक पूर्वपश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्जको टाइम कार्ड, जनावरको असुरक्षा र लामो दूरी पर्ने भएको भन्दै यात्रुहरुको रोजाई हुलाकी राजमार्ग हुने गरेको छ ।

















प्रतिक्रिया