काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले व्यहोरेको हार स्वीकार गर्न आफू तयार रहेको बताएका छन्। उनले विपक्षी डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्ने र साझा सहमतिको बाटो खोज्ने संकेतसमेत दिएका छन्।
‘द न्युयोर्क टाइम्स’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले निर्वाचनको परिणाम पूर्ण रूपमा स्वीकार गर्न तयार रहेको बताएका हुन्। डेमोक्रेटिक पार्टीसँग सहकार्य गर्ने विषयमा सोधिएको प्रश्नमा उनले आफूहरू मिलेर काम गर्ने अपेक्षा राखेको र सम्भवतः साझा समाधान निकाल्न सक्ने प्रतिक्रिया दिएका छन्।
ट्रम्पको यो अभिव्यक्ति रिपब्लिकन पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा आफ्नो बहुमत गुमाएको निर्वाचन परिणाम सार्वजनिक भइरहेका बेला आएको हो।
तर, निर्वाचन परिणामबारे ट्रम्पको धारणा एकरूप देखिएको छैन। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफू निर्वाचनको उम्मेदवार नभएको उल्लेख गर्दै आफू मैदानमा भएको भए रिपब्लिकन पार्टीले ठूलो अन्तरले जित्ने दाबी गरेका छन्।
उनको यो अभिव्यक्तिलाई पार्टीको चुनावी पराजयको जिम्मेवारीबाट आफूलाई अलग राख्ने प्रयासका रूपमा पनि हेरिएको छ।
यसअघि अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले डेमोक्रेट्सले कंग्रेसमा बहुमत हासिल गरे पनि आफूले राष्ट्रपतिको अधिकार प्रयोग गर्ने बताएका थिए। उनले राष्ट्रपतिसँग रहेको ‘भिटो’ अधिकारलाई आफ्नो प्रमुख शक्ति भन्दै विपक्षी दलले ल्याउने विधेयक आवश्यक परे रोक्ने संकेत गरेका थिए।
सीबीएसका अनुसार ट्रम्पले आफूलाई ‘मिस्टर भिटो’ का रूपमा प्रस्तुत गर्नसमेत आपत्ति नरहेको बताएका थिए। उनको यो अभिव्यक्तिले आगामी दुई वर्ष ह्वाइट हाउस र कंग्रेसबीच राजनीतिक टकराव बढ्न सक्ने संकेत गरेको छ।
कंग्रेसका दुवै सदनमा डेमोक्रेट्सको सफलता
मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरेको छ। यससँगै राष्ट्रपति ट्रम्पको बाँकी कार्यकालका लागि अमेरिकी राजनीतिमा शक्ति सन्तुलन परिवर्तन भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार डेमोक्रेट्सले रिपब्लिकन पार्टीबाट सिनेटका कम्तीमा ६ सिट खोसेका छन् भने प्रतिनिधिसभामा पनि आफ्नो उपस्थिति बलियो बनाएका छन्। टेक्सास, साउथ क्यारोलाइना, आयोवा र ओहायोजस्ता परम्परागत रूपमा रिपब्लिकन प्रभाव रहेका राज्यमा समेत डेमोक्रेट्सले उल्लेखनीय सफलता हासिल गरेका छन्।
एसोसिएटेड प्रेस (एपी)ले पनि डेमोक्रेट्सले सिनेटमा बहुमत हासिल गर्दै रिपब्लिकनको नियन्त्रण अन्त्य गरेको जनाएको छ।
अमेरिकी कंग्रेसको तल्लो सदन प्रतिनिधिसभामा कुल ४३५ सदस्य हुन्छन्। बहुमतका लागि कम्तीमा २१८ सिट आवश्यक पर्छ। सिनेटमा भने कुल १०० सदस्य हुन्छन्।
प्रतिनिधिसभाका सदस्यको कार्यकाल दुई वर्षको हुन्छ भने सिनेट सदस्यको कार्यकाल छ वर्षको हुन्छ। प्रत्येक दुई वर्षमा सिनेटका करिब एकतिहाइ सदस्यका लागि निर्वाचन हुने व्यवस्था छ।
कंग्रेसका दुवै सदनमा डेमोक्रेट्सको बहुमत कायम भएपछि ट्रम्प प्रशासनका निर्णय, सरकारी खर्च, नियुक्ति तथा नीतिगत कार्यक्रममाथि निगरानी र चुनौती बढ्नेछ। प्रतिनिधिसभाका समितिहरूमा डेमोक्रेट्सको नेतृत्व स्थापित हुनेछ भने सिनेटमा पनि सरकारी नियुक्ति र न्यायिक पदाधिकारीको अनुमोदन प्रक्रियामा उनीहरूको प्रभाव बढ्नेछ।
यो निर्वाचनलाई ट्रम्पको दोस्रो कार्यकालप्रतिको जनमत संग्रहका रूपमा समेत हेरिएको छ। रोयटर्सका अनुसार मतदातामध्ये ठूलो हिस्साले देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। जीवनयापनको बढ्दो लागत, आर्थिक अवस्था र इरानसँगको युद्धसम्बन्धी असन्तुष्टि निर्वाचनका प्रमुख मुद्दा बनेका थिए।
डेमोक्रेट्सको सफलताले ट्रम्पका आगामी दुई वर्ष चुनौतीपूर्ण बन्ने देखिएको छ। यद्यपि कंग्रेसमा बहुमत गुमाए पनि राष्ट्रपतिसँग विधेयक रोक्न सक्ने भिटो अधिकार र कार्यकारी अधिकार कायम रहनेछन्। त्यसैले आगामी दिनमा ह्वाइट हाउस र कंग्रेसबीच सहकार्यसँगै राजनीतिक संघर्ष पनि बढ्न सक्ने देखिन्छ।
















प्रतिक्रिया