काठमाडौ । नयाँ सरकार गठनबारे सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको बैठक झण्डै तीन घण्टा बसेपनि निष्कर्ष बिना सकिएको हो ।
राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको समयसीमा २४ घण्टा पनि बाँकी नरहँदा बसेको बैठकमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेन । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि (आइतबार) बिहान बस्ने बैठकपछि निर्णय आउने बताए । उनले जनअभिमतलाई सम्मान गर्दै अघि बढ्न दलहरु तयार भएको पनि बताए । कार्कीले भने, ‘छलफल सकारात्मक छ । यही गठबन्धनकै सरकार बन्छ । भोलि फेरि एकपटक बसेर सहमति सार्वजनिक गर्छौं । प्रधानमन्त्री को पहिले र को पछि बन्ने भन्ने कुरा गौण हो’
नयाँ सरकारको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलको दाबी रहँदै आएको छ । माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा सरकारको नेतृत्व आफुले पाउनुपर्ने अडान राखिरहेका छन् । कांग्रेसले भने ठूलो पार्टी भएका कारण आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने दाबी रहेको छ ।



















प्रतिक्रिया