१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

अपराध काण्डमा तानिँदै सांसद : कोही पक्राउ, कोही फरार



काठमाडौं अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिदै गर्दा ‘फरार सूचीमा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् ।

पछिल्लो समय हत्या अभियोगमा लामो समयदेखि फरार सूची’मा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ ।

त्यस्तै, अदालतबाटै दोषी ठहर भई फरार सूची’मा रहेका अर्का सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाटै पक्राउ गरेको हो ।

चौधरी गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र २ बाट निर्वाचित सांसद हुन् । उनीमाथि कैलाली गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको लु२त २११ नम्बरको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी गरेको आरोप छ ।

त्यसबखत ट्याक्टर मालिक महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको’ भन्दै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध २ भदौ २०६७ मा मुद्दा दायर गर्दै उजुरी दिएका थिए । उजुरीमा महादेवले ८ लाख ७५ हजार क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।

ट्याक्टरमा आगो लगाएको आरोपमा अरुण चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँको सजाय फैसला गरेको थियो । ९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरी गरी तीनै जनालाई ६-६ महिनाको दरले कैद सजाय तोकिएको थियो ।

त्यस्तै, क्षति भएको दाबी गरिएको ८ लाख १९ हजार रुपैयाँ तीन जनाबाट भराउने आदेश भएको थियो । घटना भएको १३ वर्षपछि र अदालतबाट सजाय तोकिएको नौ वर्षपछि प्रहरीले प्रतिनिधिसभा सदस्य बनेका चौधरीलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयनका सिलसिलामा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । ‘अदालतको फैसलाअनुसार फरार रहेका अरुण चौधरीलाई पक्राउ गरिएको हो,’ उनले बिहीबार राजधानीसँग भने, ‘फैसलाअनुसार नै कारबाही अघि बढ्छ ।’ चौधरी बाँके कोहलपुरबाट पक्राउ परेका हुन् ।

उनी २०७४ मा लम्कीचुहा नगरपालिका प्रमुखसमेत निर्वाचित भएका थिए भने ट्याक्टर मालिक बजगाईं प्रतिस्पर्धी थिए । घटनाका समय ट्याक्टरका चालक साजन चौधरीले उनीहरूले आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए ।

अरुण चौधरी अदालतबाट सजाय फैसला भएको दशकसम्म समेत फरार रहँदै आएका थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको थियो । प्रहरीले ‘फरार सूची’मा रहेका एमाले सांसद कोइरीलाई भने खोजी गरिरहेको जानकारी दिएको छ । उनी ‘कहाँ छन् ?’ भन्ने विषयमा प्रहरी नै अनविज्ञ रहँदै आएको छ ।

प्रहरी प्रवक्ता पोखरेलले कोइरी खोजीमा नै रहेको जानकारी दिए । ‘प्रहरीले कोइरीलाई पक्राउ गर्न देशभरका संयन्त्रमा परिपत्र गरेको छ, उनी प्रहरीको खोजीमा छन्, खोज्ने काम जारी छ,’ प्रहरी प्रवक्ता पोखरेलले भने ।

कोइरी गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र १ बाट निर्वाचित एमाले सांसद हुन् । कोइरीमाथि हत्या अभियोग छ । तर, राजनीतिक संरक्षणका कारण उनी यहीबीच प्रतिनिधिसभामै छिर्न सफल भएका थिए ।

कोइरीले गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभामा विश्वासको मत दिएपछि गृह नेतृत्व र प्रहरी संयन्त्रमाथि पक्राउ गर्न दबाब बढ्दै आएको छ । कोइरी संसद्भित्र खुलमखुला हिँडेपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेकोसमेत चर्को आलोचना भएको थियो ।

उनले पहिले प्रहरी प्रधान कार्यालयलाई मौखिक रूपमै भए पनि ‘कोइरीलाई पक्राउ गर्न’ निर्देशन दिएका थिए । तर, ‘मौखिक निर्देशन कार्यान्वयन नभएको’ भन्दै गृहले पुनः प्रहरीलाई लिखित निर्देशन दिँदै कोइरीलाई पक्राउ गर्न भनेको थियो । गत ६ माघमा गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर प्रहरी नेतृत्वप्रति असन्तुष्टि पोखेको थियो ।

‘उपप्रधानमन्त्रीज्यूबाट पटकपटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ त्यसबखत गृह मन्त्रालयले विज्ञप्तिमार्फत असन्तुष्टि पोख्दै भनेको थियो । कोइरीमाथि उनकै योजनामा २०७२ मा भएको मधेस आन्दोलमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको अभियोग छ ।

२५ भदौ २०७२ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट निकालेर कुटपिट गरी हत्या गरिएको थियो । त्यसपछि उनका दाजु प्रेमबहादुर विकले कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा चलाएको थियो ।

राष्ट्रसेवक कर्मचारीमाथिको हत्या अभियोगमा उच्च अदालत जनकपुरलेसमेत कोइरीलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो । १९ मंसिर २०७७ मा जनकपुर उच्च अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा प्रहरीले कोइरीलाई खोजी गर्दै आइरहेको छ । त्यसअघि जिल्ला अदालत महोत्तरीले २ असोज २०७६ मा कोइरीलाई १ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

सो आदेशविरुद्ध पुनरावेदन परेपछि जनकपुर उच्च अदालतले १९ मंसिर २०७७ मा जिल्ला अदालतको आदेशलाई उल्ट्याइदियो र पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । घटनाका बखत कोइरी जसपामा आबद्ध थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ४१ बजे

बेलहियामा गोदाम बनाएर रुपन्देहीमा लागु औषध सप्लाई गर्ने महिला पक्राउ

बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको भैरहवामा लागु औषध सप्लाई गर्ने

कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति

पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फकिँदै गरेकी युवतीको निधन

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको