७ चैत्र २०८२, शनिबार | March 21, 2026

विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा प्रभावकारी



काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि लक्षित गरेर सञ्चालन गरिएको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको छ । सरकारले गत चैत १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विशेषज्ञ सुविधासहितको टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो ।

त्यसयता विदेशमा रहेका एक सय ५६ श्रमिकले स्वास्थ्य सेवा लिएका वैदेशिक रोजगार बोर्डका निर्देशक राजन पौडेलले जानकारी दिए । मध्यपूर्व र मलेसियामा काम गर्दै आएका श्रमिकले टेलिमेडिसिनमार्फत सेवा लिएका छन् । चार जनालाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

वैदेशिक क्षेत्रमा रहेका श्रमिकका लागि सञ्चालनमा ल्याइएको टेलिमेडिसिन सेवाको प्रभावकारिता विस्तारै बढ्दै गएको पौडेलको भनाइ छ । बोर्डले वीर अस्पतालसँग समन्वय गरेर सो सेवा सञ्चालन गर्दै आएको छ । साताको दुई दिन विशेषज्ञ सेवा र सार्वजनिक बिदाका दिनबाहेक सामान्य चिकित्सकीय सेवा प्रदान हुँदै आएको छ ।

हरेक आइतबार र शुक्रबार विशेषज्ञ चिकित्सकले श्रमिकलाई स्वास्थ्य सेवा दिनेछन् भने अन्य दिन एमबिबिएस गरेका चिकित्सकले सेवा दिँदै आएका बोर्डले जनाएको छ । एमबिबिएस चिकित्सकले श्रमिकका लागि विशेषज्ञ सेवा आवश्यक परे विशेषज्ञ चिकित्सकसमक्ष सिफारिस गर्ने गरेका छन् । आइतबार र शुक्रबार श्रम गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकाले सो दिन विशेषज्ञ सेवा उपलब्ध गराइएको बोर्डले जनाएको छ ।

टेलिमेडिसनमार्फत सेवा लिने श्रमिकलाई विभिन्न स्वास्थ्य समस्याको उपचार, औषधिको सिफारिस र मनोपरामर्श प्रदान गरिँदै आइएको छ । बिरामी श्रमिकले सम्पर्क गरेको ह्वाट्सएप तथा भाइबरमा चिकित्सकले औषधि सिफारिस गर्ने गरेको बोर्डका निर्देशक पौडेलले जानकारी दिए । बिरामी श्रमिकले चिकित्सकले प्रस्ताव गरेका औषधि नेपाली बजारबाट खरिद गरेर लैजानुपर्ने उनको भनाइ छ ।

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन २ गते टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो ।

टेलिमेडिसिन सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरको भाइवर र ह्वाट्सएपलगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । वैदेशिक रोजगारीको सिलसिलामा हाल एक सय ५० भन्दा बढी मुलुकमा नेपाली श्रमिक रहेका छन् । रासस

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : ५६ बजे

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका