१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

पुरुष विदेशीयपछि नौमती बाजा बजाउँदै महिला समूह



गुल्मी । गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन् ।

महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताइन् । “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उनले भनिन्, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उनी आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्ला सदरमुकाम रेसुङ्गा पनि पुग्न थालेकी छिन् ।

सोही ठाउँका वसन्ता जिसीले पुरुष विदेश गएर गाउँमा पुरुषको कमि रहेकामा आफूहरूले बाजा बजाउन सिकेको बताइन् । “गाउँमा वृद्धवृद्धामात्र हुनुहुन्छ, उहाँहरूले बाजा बजाउन सक्नुहुँदैन”, उनले भनिन्, “ पुरुष कम हुन थालेपछि हाम्रै समूह बनाएर बाजा बजाउन थालेका हौँ ।” गाउँमा बाजा बजाउने प्रचलन रहेकामा यसलाई लोप हुन नदिन महिलाले सीप सिकेको उनले बताइन् ।

उनीहरूमात्र होइन, नौमती बाजाको सबै समूह नै महिलाको छ । विगतदेखि हालसम्म पुरुषले मात्र बजाइरहेको बाजामा समूहमा सबै महिला हुँदा यसलाई अचम्मको रूपमा हेरिएको छ । मदाने महिला नौमती बाजा समूह नामले परिचित यस समूहमा पुर्कोटदहका वसन्ता जिसी, सुस्मिता घर्ती, माया परियार, रिमा विक, पवित्रा विक, सीता विक, असिम विक, जुना नेपाली, रञ्जु नेपाली, रमा विक र सिर्जना विक गरी ११ जना रहेका छन् । अहिले यो समूहलाई जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन भ्याइनभ्याई छ ।

विवाह, व्रतबन्ध, विभिन्न मेलापर्व तथा उत्सवमा बजाइने नौमती बाजा मुख्य बाजा हो । पश्चिमेली संस्कृतिको प्रभाव र युवा पुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने स्थितिमा छ । तर गुल्मीको मदाने गाउँपलिका–६ पुर्कोटदहका महिला यसको संरक्षणमा जुटेका छन् ।

बाजा बजाउने चलन पहिलेदेखि चलिआए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन । तर मदाने गाउँपालिकाका यी महिलाले यसलाई व्यावसायिक बनाएका छन् । यतिबेला मदाने गाउँपालिकाको यो समूह बाजा बजाउन गाउँपालिका, छिमेकी पालिका र जिल्ला सदरमुकाम तम्घाससम्म पुग्दै आएको छ । मदाने महिला नौमती बाजा समूहका अध्यक्ष जिसीले आफूहरूलाई एक दिन बाजा बजाएबापत रु २५ हजारदेखि ३५ हजारसम्म दिने गरेको बताइन् ।

मदाने गाउँपालिकाले नौमती बाजाको संरक्षणका लागि महिलालाई सीप सिकाएको थियो । सीपसँगै गाउँपालिकाले व्यावसायिक बनाउनका लागि नौमती बाजा वितरण पनि गरेको थियो ।

मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बाजाको संरक्षण, महिलालाई सीप, बाजा बजाउने पेसालाई व्यावसायिक र गाउँपालिकाको पहिचानका लागि यो कदम अगाडि बढाएको बताइन् । “हामीले महिलालाई अगाडि बढाउन सीप सिकाएका हौँ”, उनले भनिन्, “अहिले महिलाले बजाइरहेको बाजा व्यावसायिक र पहिचान बन्यो, खुसी लागेको छ ।” परम्परागत संस्कृतिको संरक्षण गर्नका लागि नौमती बाजाको जगेर्ना गरेको उनको भनाइ छ । उनले यस आर्थिक वर्ष पनि गाउँपालिकाले बजेट विनियोजन गरेर अगाडि बढेको बताइन् ।

महिलाले खुसीका साथ आफैँ लागेर बाजा बजाउने पेसालाई व्यावसायिक बनाएकामा संस्कृति संरक्षणमा टेवा पुगेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए । “मदानेले महिलालाई नौमती बाजाको सीप सिकाएर पहिचान बनायो”, उनले भने, “अन्य पालिकाले पनि आफ्ना छुट्टै खाले पहिचान बनाउन आवश्यक छ ।” रुचिअनुसारका पेसामा अगाडि बढ्नु आफैँमा सकारात्मक भएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ११ : ०९ बजे

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको