१० पुस २०८२, बिहिबार | December 25, 2025

मुग्लिन पोखरा सडकखण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी



दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए ।

केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्रै छ । सडक कालोपत्रका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए । उनले भने, “पुसको अन्तिम वा माघको सुरुदेखि कालोपत्र हुनेछ । त्यही अनुसार अहिले काम भइरहेको ।” उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ ।

सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।

पूर्वी खण्डमा भने काम तीव्र गतिमा अगाडि बढेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा करिब ४५ प्रतिशत काम सकिएको । पूर्वी खण्डमा १२.५ किलोमिटर एकतर्फी र दुई किलोमिटर दुईतर्फी कालोपत्र सकिएको छ । यसअघि एकतर्फी कालोपत्र सकिएको ठाउँमा दुईतर्फी रुपमा कालोपत्र गर्ने काम भइरहेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

यसअघि आँबुखैरेनी गाउँपालिका-१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म ३.५ र बन्दीपुर गाउँपालिका-१ नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको उहाँको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : १८ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र