काठमाडौं । काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रनमा समेटियो ।
काठमाडौंका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाए । ३१ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । दुशन हेमन्थाले १८ बलमा २१ रन बनाए भने साम हेजलेटले ११ र सन्तोष यादवले १० रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए । स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलेनले समान एक-एक विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । चार विकेट गुमाएर मात्र ८ रन जोडेको अवस्थामा क्रिजमा पुगेका दीपेन्द्रले सम्हालिएर ब्याटिङ गर्दै टोलीको स्कोर उकासेका थिए ।
उनले ५५ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए । त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रनको योगदान दिए ।
सुदूरपश्चिमका ओपनर स्कट कुगेलेइन ६ र विनोद भण्डारी १ रनमा आउट भए । ब्रान्डम म्याकमुलेन र इशान पाण्डेले भने खाता खोल्न सकेनन् ।
काठमाडौंका लागि जहानद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए ।
यस जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सात खेलबाट पाँच जित निकालेको सुदूरपश्चिमको १० अंक भएको छ । समान खेलबाट एक अंक कम रहेको लुम्बिनी लायन्स दोस्रो स्थानमा छ । लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको छ ।
६ खेल खेलेको काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ । समान ६ खेलबाट ६ अंक जोडेको विराटनगर किङ्स चौथो स्थानमा रहेको छ ।
















प्रतिक्रिया