३१ बैशाख २०८१, सोमबार | May 13, 2024

चाकुको बास्नाले सुगन्धित ‘टोखाबजार’



काठमाडौं । माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको बास्ना आउन थालेको छ । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन बढी छ ।

टोखा नेवार समुदायको मुख्य बस्ती रहेको सहर हो । यो सहरमा काठमाडौंका अन्यत्रको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्छ । माघे सङ्क्रान्ति पर्व आउन दश दिन बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ । टोखा नगरपालिका वडा नं २ र ३ मा चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरी यतिबेला मानिसहरुको चहलपहल पनि बढेको देखिएको छ । टोखाबासी मात्रै नभइ काठमाडौंका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगी बिक्री गर्ने भएकाले उनीहरुको पनि बाक्लो उपस्थिती देखिन थालेको छ । अहिले नै चाकु किन्ने नभइ खरिदका लागि ‘बुकिङ’ गर्न उनीहरु त्यहाँ पुगेका पाइएको छ ।

टोखाको चाकु काठमाडौंका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ मङ्सिर र पुसमा यहाँका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताउँछन । “टोखाका चाकु उद्योगीहरुले वार्षिक २५ देखि ३० लाख मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकारहरु बिक्रीवितरण गर्दै आएका छन्”, उनले भने ।

नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध ठाउँ हो । अध्यक्ष श्रेष्ठ टोखामा परम्परादेखि नै उखुखेती हुने र उक्त उखुबाट चाकुलगायत विभिन्न परिकार बनाइने भएकाले पनि टोखाको चाकुको महत्व देश र विदेशमा रहेको बताउँछन ।

नेवारी भाषामा ‘टु’ र ‘ख्यः’ भन्दाभन्दै उक्त शब्द अपभ्रंश हुँदै ‘टोखा’ हुन गएको मानिन्छ । टोखा नगरपालिकाको नामकरणसमेत टोखा बजारबाट भएको हो । टोखा नगरपालिकाले समेत टोखाको चाकु संरक्षणमा काम गरिरहेको छ । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी टोखाको चाकु संरक्षणका लागि टोखाले चाकु उत्पादनसम्बन्धी तालिम तथा उखु क्षेत्रको भ्रमणसमेत गरेको बताए । टोखा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा टोखाको चाकु अन्तर्राष्ट्रिय स्तरमा ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको उनको भनाइ छ ।

अहिले टोखामा उखुखेती हराउँदै गएको छ । टोखामा उत्पादन हुने चाकुका लागि आवश्यक पर्ने सख्खर तराईका विभिन्न जिल्ला र गुल्मीबाट आउने गरेको छ । टोखाको चाकु संरक्षणका लागि टोखा परम्परागत चाकु संरक्षण समाजले नगरपालिकाबाट दिएको रु दुई लाख ५० हजार अनुदानले तराई र गुल्मीको उखु निरीक्षणका लागि खर्च गरेको समाजका अध्यक्ष श्रेष्ठले बताए । सो समाजले गुल्मीको छत्रबास गाउँपालिकासँग भगिनी सम्बन्धसमेत स्थापित गरेको छ । गुल्मीको छत्रबास गाउँपालिका उखुका लागि प्रख्यात क्षेत्र हो ।

यस्तै, वार्षिक ठूलो सङ्ख्यामा मानिसहरु टोखामा चाकु उत्पादनसम्बन्धी तालिमका लागि आउने गरेका छन् । टोखामा चाकु बनाउने तालिम लिएर देशका विभिन्न स्थानमा गएर उद्योग सञ्चालन गरी काम गर्ने गरेको टोखा परम्परागत चाकु संरक्षण समाजले जनाएको छ । हाल नेपालभर ५० देखि ६० चाकु उद्योग छन् । जसमध्ये १४ वटा टोखामा छन् । माघे सङ्क्रान्ति पर्वका अवसरमा देशभरका ६० उद्योगमा एक लाख ५० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य रुपमा रोजगारी पाउने गरेको समाजका अध्यक्ष श्रेष्ठ बताउँछन ।

टोखामा इस्वी संवत् ५१९ देखि चाकु बनाउने प्रचलन चलेको किंवदन्ती पाइन्छ । लामो समयदेखि चाकु बनाउँदै आएको टोखाको परम्परागत चाकु उद्योगलाई बचाउनका लागि विसं २०७३ कात्तिक २२ गते टोखा परम्परागत चाकु संरक्षण समाज स्थापना गरिएको थियो ।

टोखामा ५० वर्षदेखि चाकु उत्पादन गर्दै आएका राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकबाटसमेत माग आइरहेको बताउँछन । चाकुको माग अत्यधिक भएपछि बजारसम्म पुर्याउन भ्याइनभ्याइ भएको उनको भनाइ छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउँछन । टोखाको चाकु संरक्षणमा नगरपालिका गम्भीर भएर लागेको उनको भनाइ छ । टोखा काठमाडौं क्षेत्र नं ५ मा पर्दछ । काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल टोखाको चाकुलाई गुणस्तरीय रुपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारससम्म लैजानका लागि आफूले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गरिसकेको बताउँछन । “टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो, यहाँ राज्यबाटै चाकु उत्पादनको पहल गर्नसके हजारौँ व्यक्तिले रोजगारी पाउनेछन्, त्यसका लागि मैले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको छु,” उनी भन्छन । उनी टोखाको चाकुलाई नेपालको चक्लेट भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिने बताउँछन ।

टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु एक सय ३० देखि एक सय ३५ सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : २२ बजे

वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

काठमाडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको

प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना : मौसम विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका