काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व भूराजनीतिमा आएको परिवर्तन र बढ्दो चलखेलको असर नेपालमा अझ बढी परिरहेको दाबी गरेका छन् । उनले नेपालको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिस्थिति सहज नरहेको उल्लेख गर्दै मुलुक असहज अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
पार्टीले शनिबारदेखि सुरु गरेको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रचण्डले विश्वमा जारी युद्ध, द्वन्द्व र विभिन्न आन्दोलनले अन्तर्राष्ट्रिय परिस्थिति जटिल बनाएको बताए । यस्तो अवस्थामा नेपाल पनि भूराजनीतिक परिवर्तनको प्रभावबाट अछुतो रहन नसकेको उनको भनाइ थियो ।
‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ बढी असहज नेपालमा परिरहेको छ । यस्तो परिस्थितिबाट हामी गुज्रिएका छौँ,’ प्रचण्डले भने ।
उनले रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन द्वन्द्व तथा इजरायल, अमेरिका र इरानबीचको युद्धलगायतका घटनाले विश्व परिस्थिति सहज नरहेको देखाएको बताए । युरोपमा भइरहेका विद्रोह तथा आन्दोलनले पनि अन्तर्राष्ट्रिय परिवेशलाई थप जटिल बनाइरहेको उनको भनाइ थियो ।
‘नेपाली जनतालाई पनि असहज महसुस भइराखेको परिस्थिति एकातिर छ भने अर्कोतिर अहिले विश्व पनि सहज ढङ्गले अगाडि बढिराखेको छैन,’ उनले भने ।
प्रचण्डले नेपालको आन्तरिक राजनीतिक परिस्थिति पनि सहज नरहेको उल्लेख गर्दै बदलिँदो विश्व परिस्थितिले नेपाली राजनीतिमा समेत असाधारण अवस्था सिर्जना गरेको बताए । यस्तो अवस्थामा राजनीतिक दलहरू थप गम्भीर, संवेदनशील र जिम्मेवार बन्नुपर्ने उनको धारणा थियो ।
विगतमा मुलुकमा भएका राजनीतिक परिवर्तन र उपलब्धिका लागि आफ्नो पार्टीले त्याग, तपस्या र बलिदान गरेको उल्लेख गर्दै प्रचण्डले अहिलेको परिस्थितिमा पार्टीको जिम्मेवारी अझ बढेको बताए ।
‘हाम्रो पार्टी जसले विगतमा यो देशमा सबै जनताको सार्वभौमिकताका निम्ति, सबै उत्पीडित वर्ग समुदायको हक अधिकारका निम्ति त्याग, तपस्या र बलिदानको प्रक्रियाबाट युगान्तकारी उपलब्धि हासिल गर्न सम्भव भएको पृष्ठभूमिको पार्टी हौँ हामी,’ उनले भने ।
वर्तमान विश्वमा देखिएको भूराजनीतिक चलखेल र त्यसको प्रभावबाट नेपालको राजनीतिमा उत्पन्न असहज परिस्थितिप्रति आफ्नो पार्टी सचेत रहेको उनको भनाइ थियो । विगतका राजनीतिक परिवर्तनमा भूमिका खेलेको पार्टीका रूपमा बदलिँदो परिस्थितिको गम्भीरतापूर्वक विश्लेषण गर्दै राष्ट्रिय हित र जनताको अधिकारको संरक्षणमा लाग्नुपर्ने उनले बताए ।
नेकपाले सुरु गरेको दुई महिने राष्ट्रिय जागरण अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका समस्या तथा गुनासा बुझ्ने र बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

















प्रतिक्रिया