१६ माघ २०८२, शुक्रबार | January 31, 2026

थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी’



कञ्चनपुर । कैलालीको लम्कीचुहा नगरपालिका-७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन् ।

सत्र वर्षअघि टीकापुर महोत्सवबाट थारू कला, संस्कृति, पहिरन र परिवारसहितको थारू गाउँ मेला-महोत्सवमा राखेर परम्परागत संस्कृतिको संरक्षणसँगै आयमूलक काममा जुटेका कुश्मीसँगै ३० जना थारू समुदाय यतिबेला सुदूर, लुम्बिनी र कर्णाली प्रदेशमा सक्रिय छन् । पहिलोपटक जारी कञ्चनपुर पर्यटन महोत्सवभित्र थारू गाउँ सञ्चालन गरेका कुश्मीलगायत थारू समुदायले हिउँदको समयमा मात्रै यस वर्ष १० महोत्सवमा प्रदर्शनी कक्ष राखिने बताएका छन् ।

“यहाँबाट कैलालीको बौनिया र चिसापानी सोल्टामा पनि महोत्सव आयोजकले बोलाइसकेका छन्”, कुश्मीले भने, “थारूको परम्परागत नृत्यदेखि परिकारसम्म एउटै थलोमा पाउँदा मेला अवलोकनकर्ताको प्रमुख आकर्षण नै थारू गाउँ बन्छ ।” थारू गाउँको सञ्चालक बन्नुअघि मेलामा लत्ताकपडाको व्यापार गरेका कुश्मीले गर्मीयाम सुरु भएसँगै मेला-महोत्सवमा कमी आउने भएपछि आफूहरू खेतीपातीमा लाग्ने गरेको बताए ।

“महेन्द्रनगरमा अहिले १२ स्टलको थारू गाउँ छ भने आठ स्टल सुर्खेत र बाँकी दिपायलमा गएको छ”, उनले भने, “अब दार्चुलामा जाने कुरा भइरहेको छ ।” उनले महोत्सवमा चहलपहल बढी भएका बेला प्रतिस्टलले रु एकदेखि रु एक लाख ५० हजारसम्मको कारोबार गर्ने गरेको बताए । थारू गाउँमा परम्परागत पहिरनमा थारू युवायुवतीले नृत्य देखाउनुका साथै परिकारको स्वाद दिने गर्छन् ।

“थारू परिकार घोङ्गी, गङ्गटा, मुसा, ढिक्री, माछा र मासुका अन्य परिकार, अन्धी चामलको भात, जाँड र घोङ्गीलगायतका परिकार थारू गाउँमा उपलब्ध हुन्छ”, कुश्मीले भने, “ परिकार बिक्रीवितरण गर्दा यिनै परिकारको स्वादले धेरैलाई तान्छ ।”

मेलामा स्टल राख्ने क्रममा कैलाली, कञ्चनपुरका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट पूर्वमा दाङसम्म पुगेको उनीहरूको भनाइ छ । “अब वैशाखपछि हामी खेतीपातीमा लाग्छौँ”, उनले भने, “मेला-महोत्सवबाट भएको आम्दानीले घरखर्च चलाउँछौँ ।”

कञ्चनपुर पर्यटन महोत्सवमा थारू संस्कृति झल्काउनुका साथै संरक्षणका लागि थारू गाउँ राखिएको थारू गाउँ स्टल संयोजक बेदप्रकाश चौधरीले बताए । “थारू कला, संस्कृतिसमेत प्रदर्शन गर्ने भएकाले गाउँमा प्रवेशका लागि प्रतिव्यक्ति रु २५ टिकट राखिएको हो”, उनले भने, “गाउँगाउँभित्र हाम्रो समुदायको सबैखाले पहिचान झल्किने कुरा हेर्न पाइन्छ ।” उनले थारू गाउँबाट थारू समुदायको आयस्रोत पनि बनिरहेको बताउँदै महोत्सवहरूमा थारू गाउँलाई महत्व दिनुपर्नेमा जोड दिए ।

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–२ का लक्ष्मी चौधरीले पनि थारू गाउँमा मिसिएर होटल व्यवसायमा लागेको चार वर्ष भयो । “यो व्यवसायमा लाग्नुअघि धनगढीमा मजदुरी गर्थेँ”, उनले भनिन, “श्रीमान् अहिले पनि मजदुरी गर्छन् म मेला-महोत्सवमा स्टल राखेर खटिएको छु ।”

उनले विभिन्न थारू परिकारका लागि कच्चा पदार्थ पाउन मुस्किल हुने गरेको बताइन । “कतिपय खानेकुरा त अहिले पनि भारतबाट मगाउनुपर्छ”, उनले भनिन, “गङ्गटा भने यसपालि लम्कीबाट ल्याइरहेका छौँ ।”

उनले थारू गाउँमा परम्परागत परिकार अवलोकनकर्तालाई खुवाउन पाउँदा खुसी लाग्ने गरेको बताइन । “मेला सकिएपछि धनगढीमा भाडामा लिएको १० कठ्ठा जमिनमा खेतीको तयारीमा लाग्छु”, उनले भनिन, “पछिल्लो समय मेला-महोत्सवमा प्रदर्शनी कक्ष लगाउँदा ठिकै आम्दानी हुने गर्छ ।”

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १० : ०५ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी