१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि



कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ । बाह्य संरक्षण क्षेत्रबाट स्थानान्तरण गरेर ल्याइएका १२ वर्षको अवधिमा लोपोन्मुख प्रजातिका कृष्णसारको सङ्ख्या ४२ बाट बढेर तीन सय ११ पुगेको छ ।

निकुञ्जमा वयस्क भाले ८१, अर्धवयस्क भाले ३१, वयस्क पोथी एक सय दुई, अर्धवयस्क पोथी ३८ र भर्खरै जन्मेका लिङ्ग पहिचान नभएका ३९ कृष्णसार संरक्षित रहेका छन् । हिरापुर फाँटाको ५८ दशमलव आठ हेक्टर क्षेत्रको चारैतिर हिंस्रक जनावरबाट जोगाउनका लागि तारजाली लगाएर कृष्णसारका लागि सुरक्षित बासस्थान बनाइएको छ ।

“निकुञ्जको संरक्षित क्षेत्रमा कृष्णसारको सङ्ख्या उत्साहजनक रुपमा बढेको छ”, निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी मनोज ऐरले भने, “संरक्षणकर्मीका लागि यो खुसीको कुरा हो, स्थानान्तरणको अभ्यास सफल भएको छ, निकै उत्साहित छौँ ।” उनका अनुसार चार वर्ष लगाएर बासस्थानको गहन रुपमा अध्ययनपश्चात् स्थानान्तरणको कार्य गरिएको थियो । निश्चित क्षेत्रमा राखेर संरक्षण गरिएका कृष्णसारलाई प्राकृतिक बासस्थानमा छाड्नका लागि अध्ययनको कार्य भइरहेको छ । “प्राकृतिक क्षेत्रमा कृष्णसारलाई छाड्नका लागि उपयुक्त स्थान छनोटका लागि छलफलको कार्य भइरहेको छ”, अधिकृत ऐरले भने, “निकुञ्जले उपलव्ध गराउँदै आएको चना, मटर, मकैलगायत खुवाउने कार्य घटाउँदै लगेको छ ।”

आफ्नै तरिकाले चर्नका लागि आत्मनिर्भर बनाउने प्रयास जारी रहेको जनाउँदै उनले हाल घाँसमा मात्रै निर्भर हुने तरिकाले चरन क्षेत्रको विस्तार गरिएको बताए । विस्तृत अध्ययनको कार्यपछि सन् २०१२ मा पहिलो पटक नेपालगञ्जको मिनी चिडियाखानाबाट दुई वयस्क, एक अर्धवयस्क भाले, चार वयस्क र एक अर्धवयस्क पोथी गरी आठ कृष्णसार स्थानान्तरण गरी हिरापुरफाँटामा ल्याइएको थियो ।

त्यसको पाँच दिनपछि मिनी चिडियाखानाबाट अर्धवयस्क भाले तीन, वयस्क पोथी आठ र अर्धवयस्क पोथी तीन गरी १४ कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो । त्यसपछि सन् २०१२ कै अक्टुबर महिनामा जाउलाखेल सदरचिडियाखानाबाट तीन वयस्क भाले, दुई वयस्क पोथी र एक वर्ष नपुगेका बच्चा गरी छवटा कृष्णसार निकुञ्जको संरक्षित क्षेत्रमा ल्याइएको थियो ।

सन् २०१५ मा कृष्णसार संरक्षित क्षेत्र खैरापुर बर्दियाबाट तीन वयस्क भाले, एक अर्धवयस्क भाले र १० वयस्क पोथी गरी १४ कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो । निकुञ्जमा कृष्णसार अघि विसं २०५८ मा चितवन राष्ट्रिय निकुञ्जबाट चार गैँडा स्थानान्तरण गरेर ल्याइएको थियो । यस वर्ष चितवनबाटै घडियाल गोही स्थानान्तरण गरेर ल्याइएको छ । स्थानान्तरण गरेर ल्याइएकामध्ये कृष्णसार र गैँडाको सङ्ख्या निकुञ्जमा उत्साहजनक रुपमा बढेको संरक्षण अधिकृत ऐरको भनाइ छ ।

निकुञ्जको पूर्व पश्चिम राजमार्गको अर्जुनीफाँटाभन्दा उत्तर झन्डै चार किलोमिटरको दूरीमा कृष्णसारलाई संरक्षित गरिएको छ । संरक्षित क्षेत्रमा कृष्णसारका लागि खानेपानीका पोखरी, छहारीमा बस्न सेड हाउस ९छहारी घर०, चर्न घाँसेमैदान निर्माण गरिएका छन् । कृष्णसार अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि मचानको व्यवस्था गरिएको छ । संरक्षित क्षेत्रमा पुग्ने सडकमा ग्राभेल राखेर पर्यटकको आवागमन सहज बनाइएको छ ।

कृष्णसार संरक्षणमा खटिएका कर्मचारीका लागि सौर्य बत्ती जडान गरिएका आवास निर्माण गरिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ । हाल बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा मात्रै कृष्णसारलाई संरक्षित गरेर राखिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ३ : ५१ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला