१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ


२४ भदौ २०८१, सोमबार  

234
Shares

बागलुङ । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।

सडकको बायाँपट्टी ठूलो क्षेत्रफलमा लटरम्म फलेका थरिथरी जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ । वर्षौँअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो ।

ढोरपाटन नगरपालिका–९ का होमलाल भुसालसहितको समूहले थालेको व्यावसायिक स्याउखेती अहिले यहाँका अन्य किसानको अध्ययन गर्ने थलोका रुपमा विकास हुँदै गएको छ । मस गाउँसहित ढोरपाटनको नवी, भूजी, स्यालपाखे, काङ, निसेलढोरको कुँडेलगायत ठाउँमा करिब डेढ दशकदेखि स्याउखेती थालिएकामा अहिले उत्पादनमा किसान केन्द्रित हुन दिन थालेका हुन् ।

अहिले गाउँका अन्य किसानले पनि नयाँ प्रविधिको प्रयोग गरि स्याउखेती गर्न थालेका छन् । पछिल्लो समय रैथाने खेती गर्ने किसानले पनि व्यावसायिक खेतीप्रति चासो दिन थालेका हुन् ।

ढोरपाटन–९ का होमलाल भुसालसहित चिरन घर्ती, कमानसिंह बुढा, झिरमती घर्ती, रुद्र घर्ती र चकेन्द्र घर्तीले सुरु गरेको स्याउ खेतीलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि लगानी गरेको छ । उहाँहरुले एक वर्ष अघि एक हजार तीन सय बिरुवा इटालीबाट ल्याएर लगाउनु भएको थियो । कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदानमा बिरुवा पाउने भएपछि दुई वर्ष अघिदेखि स्याउखेती गर्न जग्गा भाँडामा लिएर सम्याउने काम गरेको होमलालले बताए ।

उनले बिरुवा लगाएको एक वर्षमा करिब रु एक लाख ५० हजारको स्याउ उत्पादन भएको भन्दै अब केही दिनमा टिपेर बजार पठाउने जानकारी दिए। भुसालले भने, “पोहोर असारमा लगाएको बिरुवाले अहिले फल दिएपछि हामी धेरै खुसी भएका छौँ, हामीले थालेको स्याउखेतीमा ज्ञान केन्द्रले पनि सहयोग गरेकाले सहज भएको छ । इटालीबाट बिरुवा आएको हो, यस वर्ष यति परिणाममा फल्ला भन्ने लागेको थिएन, अर्को साल धेरै फल्ने अपेक्षा गरेका छौँ ।”

किसान चिरनकुमार घर्तीले गाउँमा खाली रहेको जग्गालाई सदुपयोग गरी व्यावसायिक स्याउखेती थालेको बताए। हालसम्म व्यक्तिगत रुपमा रु २० लाख र कृषि ज्ञान केन्द्रको अनुदानसहित रु २७ लाख लगानी भएको उनले जानकारी दिए।

एक हजार तीन सय बिरुवा लगाएकामा करिब एक हजारले फल दिएको भन्दै अझै १० हजार बिरुवा लगाउने योजना रहेको घर्तीले जानकारी दिए। सामूहिक रुपमा करिब एक सय रोपनी जग्गा भाँडामा लिएर उत्तरगङ्गा अर्गानिक एग्रो प्रालि दर्ता गरेर खेती सुरु गरेको उहाँले उल्लेख गरे ।

“रोजगारीका लागि विदेश जाँदा पनि दुःख गर्नुपर्छ, स्वदेशमा स्वरोजगारका अवसर सिर्जना गरी मेहनत गर्दा प्रशस्त खाम्दानी गर्न सकिन्छ । अहिले एक सय रोपनीमा १० हजार स्याउ फलाउने गरी काम गरिरहेका छौँ”, उनले भने, “छ जनाको समूहबाट काम थालेका छौँ, अब प्राविधिक ज्ञान सिक्न बाँकी छ ।”

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले मस गाउँमा इटालियन स्याउ उत्पादन हुने राम्रो हावापानी भएकाले किसानलाई प्रोत्साहन गरी व्यावसायिक बनाउन थालिएको बताए। कृषि निर्देशनालयले इटालीबाट ल्याएको गोल्डेन, गाला, फूजी र रेड जातको स्याउका बिरुवा सहयोग गरेको भन्दै केन्द्रले स्याउलाई आवश्यक पर्ने प्राविधिक ज्ञान, मल, सिँचाइलगायतमा सहयोग गरेको उनले जानकारी दिए ।

केन्द्रले यहाँ चाहिने आवश्यक प्राविधिक सहयोगसमेत निरन्तर गर्दै जाने प्रमुख सिलवालले बताउनुभयो । परीक्षणका लागि लगाइएको स्याउ राम्रो फलेपछि थप बिरुवा सहयोग गर्दै जाने उनले उल्लेख गरे।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  १२ : ३३ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’