१ पुस २०८२, मंगलबार | December 17, 2025

लमजुङ दरबार निर्माणकार्य ठप्प



लमजुङ । बेँसीसहर नगरपालिका-३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प छ ।

बाइसेरचौबीसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माणले गति लिन नसक्दा लमजुङवासी चिन्तित बनेका छन् । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार दुई वर्षभित्र सक्नेगरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि कार्यसम्पन्न हुन सकेन । तेस्रो वर्ष लाग्यो तर काम भएको छैन । “हामीले निर्माणकार्य नभएपछि गत दसैँपछि काठमाडौं पुगेर पुरातत्व विभाग र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीयसचिवलाई भेटेर आवश्यक बजेटको व्यवस्थापनका लागि आग्रह गरेका थियौँ तर पनि काम सुरु हुनसकेको छैन”, उनले भने, “यहाँ दरबारसँगै मन्दिर पनि निर्माण भइरहेको छ, समयमा सकिएन, मान्छेको आस्था घट्यो, काममा ढिलाइ हुँदा स्थानीय बेखुसी छन् ।”

स्थानीय सुरेश श्रेष्ठले धार्मिक तथा एतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनःनिर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताए ।

वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाइले सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माणकार्य ढिलाइ भइरहेको र हालसम्म कामसुरु नभएको बताए । “दरबार निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौँ । यसअघि गरेको काम पनि सो बेलाको ठेकदारले गुणस्तरीय काम नगरेको गुनासो छ । यस विषयमा गुनासो गरे पनि विभागले ध्यान दिएको छैन”, उनले भने । पुरातत्व विभागका अनुसार दरबार पुनःनिर्माणमा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार अघिल्लो आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा गत आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्याएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपीएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएस/विष्णु जेभीले दरबार पुनःनिर्माणको जिम्मा पाएको थियो । इन्जिनियर अधिकारीले चालु आवका लागि रु ५५ लाखमात्र बजेट रहेको बताए । बजेट अभावका कारण निर्माणकार्य लम्बिरहेको र यस वर्षको बजेटले पनि निर्माण सम्पन्न नहुने उनको भनाइ छ ।

“बजेट निकासा, किस्ता किस्तामा बोलपत्रलगायत प्रक्रियाका कारण यस वर्ष यतिका महिनासम्म निर्माण कार्यले गति लिन सकेको छैन । बोलपत्र प्रक्रियामा गइसकेको र आधिकारिक रूपमा बोलपत्र परेको कम्पनीको नाम आउन बाँकी रहेकाले पनि केही समय लागको हो । अब केही समयमा बोलपत्र परेका ठेकेदारसँग सम्झौता गरेर ठेकेदारलाई ल्याएर हेर्न आउँछौँ अनि करिब एक महिनापछि काम सुरु गर्छौँ, हालको बजेटको काम सुरु गरेको करिब तीन महिनाभित्रमै काम सम्पन्न हुने हाम्रो विश्वास छ”, इ अधिकारीले भने ।

पुरानै शैली र स्वरूपमा दरबारको पुनःनिर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा ९छाने शैली०को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ ।

दरबार पुनःनिर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले बजेट उपलब्ध गराएर चाँडो निर्माण सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ९ : १९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष