२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत



धरान । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् ।

धरान उपमहानगरपालिका-१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्ने सहयोग गरेको बताउँछन । उनले पछिल्लो आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहेका छन । “पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोप्दै आएको थिएँ, अहिले फूलका बिरुवा उत्पादन गरेर बिक्री गरी मासिक झण्डै रु एक लाख आम्दानी भइरहेको छ”, उनले भने ।

फूल रोप्ने सौखलाई व्यवसायमा बदल्नेमा धरान-११ का शिवमाया राई पनि हुन । छ वर्षअघि मनी प्लान्टका दुईवटा बिरुवा घर ल्याएर रोपेकी उनले कालान्तरमा मनपरेका फूल सङ्कलन सुरु गरिन । अहिले उनले आफैँ नर्सरी सञ्चालन गरिरहेकी छिन । जहाँबाट विभिन्न प्रजातिका फूल र बिरुवा छन् । यसले सौखमात्र पूरा भएको छैन, राम्रो आम्दानी पनि भइरहेको छ ।

“सुरुमा आफन्त र छिमेकी सित्तैमा लैजाने गर्दथे, उनीहरुले निःशुल्क पाएर होला, राम्रोसँग स्याहार नगरेको देख्दा चित्त दुख्थ्यो”, उनले भनिन, “पछि सित्तैमा दिन मन लागेन, प्रतिबिरुवा रु ५० लिन थाले, पछि यो व्यवसाय बन्यो ।”

उनले सुरुआती आम्दानी फूल र बिरुवामै लगानी गरिन । अहिले यसैले व्यवसायी बनाएकामा उनी निकै खुसी छन । “सौखले रोप्न सुरु फूल पछि व्यवसाय बन्यो, अहिले यसैबाट मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको छ”, उनले भनिन । अहिले उहाँको नर्सरीमा एक सयभन्दा बढी प्रजातिका फूल र बिरुवा छन् ।

धरानका लाहुरेका बस्तीमा घरको गेटदेखि छतसम्म फूलैफूल देख्न सकिन्छ । कतिपयले घरको आँगनलाई नै बगैँचा बनाएका छन् । फूल र बिरुवाप्रतिको लगावका कारण घर निर्माण गर्दा अलिकति भए पनि खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलन पनि बढेको छ ।

धरान-८ मा पवित्र नर्सरी सञ्चालन गर्दै आएका प्रमिला राई १७ वर्षदेखि नर्सरीबाट भएको आम्दानीले नै परिवार धानिरहेको बताउँछिन । नर्सरीमा उनले केही व्यक्तिलाई जागिर पनि दिएकी छिन ।

धरान-२० का युमेनहाङ राईले पनि पहिले फूल सङ्कलन गर्ने सौख नै अहिले व्यवसाय बनेको बताउँछिन । अहिले अहिले एभरेष्ट नर्सरी सञ्चालन गर्दै आएका छन । उनले भनिन, “सुरुमा साथीभाइबाट मनपरेका फूल मागेर ल्याउँथे, पछि यसैलाई व्यवसाय बनाएँ, अहिले यही सौखको व्यवसायले घर खर्च धानेको छ ।” उनको नर्सरीमा अहिले रु एक सयदेखि रु ७० हजारसम्मका बिरुवा छन् ।

धरानका नगरप्रमुख हर्क साम्पाङ राईले पनि उपमहानगरमा फूल रोप्ने अभियान नै सञ्चालन गरिरहेका छन । उनले सञ्चालन गरेको श्रमदान अभियानबाट धरानमा सडकको छेउछाउ र सर्दुखोलाको बगर र डाँडाकाँडामा विभिन्न प्रजातिका फूल र बोटबिरुवा रोपिएको छ ।

“फूलले मानिसलाई आकर्षित मात्र गर्दैन व्यावसायिक पनि बनाउँछ”, उनी भन्छन, “फूलले धरान पर्यटकलाई पनि आकर्षित गर्छ ।” फूल र बोटबिरुवा धरानको चिनारीका रुपमा विस्थापित गर्नका लागि उक्त अभियान सञ्चालन भइरहने उनको भनाइ छ ।

धरानमा अहिले व्यावसायिक रूपमा फूल र बिरुवा बेच्ने तीन दर्जनभन्दा बढी नर्सरी छन् । धरानमा वार्षिक रु तीन करोडभन्दा बढीको फूल र बिरुवा हुने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : १५ बजे

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म