२९ मंसिर २०८२, सोमबार | December 16, 2025

दूध बेचेर मासिक दुई लाख कमाइ!


२ चैत्र २०८१, शनिबार  

195
Shares

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेकाछन् । गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गरेका थिए ।

लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले यस पेसा अँगालेको कृषक बाँस्तोला बताउँछन्। उनका फार्ममा अहिले २२ वटा गाई छन् । जसमध्ये १५ वटा लइना गाईबाट दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आएका छन्। सुरूमा रू एक करोडको लगानी भएको छ”, उनले भने, “मासिक रू चार लाखको दूध बिक्री गर्छु, सबै खर्च कटाएर मासिक रू दुई लाख कमाउँदै आएको छु ।”

त्यसैगरी अर्का दुग्ध व्यवसायी मेघनाथ आचार्यले नौ वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन् । तेह्र वर्ष वैदेशिक रोजगारीमा रहेका आचार्य स्वदेश फर्किएर गाईपालन व्यवसायमा लागेका हुन् । खर्च कटाएर मासिक रू ४५ हजार कमाउँदै आएको कृषक आचार्य बताउँछन्। आफ्नो चार रोपनी र भाडामा १२ रोपनी जग्गा लिएर घाँसखेती गरेको छु”, उनले भने, “सुरूमा रू दश लाख लगानी गरी थालिएको व्यवसायबाट परिवार सन्तुष्ट छौं।”

गाउँका अधिकाँश व्यक्ति पशुपालन र कृषिमा लागेपछि यस क्षेत्रको मुहार फेरिएको छ । आर्थिक क्षेत्रमा सबल बन्नुका साथै अन्यका व्यक्तिका लागि पनि गरे हुँदोरहेछ भन्ने गतिलो सन्देश यस क्षेत्रका पशुपालन कृषकले दिएका छन् ।

गाउँबाट दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएको छ । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ । संस्थामा आबद्ध एक सय जना शेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गर्दै आएको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए।

उनले भने, “कृषकको खरिद मूल्यअनुरूप दैनिक रू एक लाख ३० हजार मूल्यको दूध सङ्कलन हुने गरेको छ, थोरैमा रू १५ हजारदेखि दुई लाखसम्म मासिक कमाउने गरेका छन् ।” यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट छ सय लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाइने गरिएको छ । पोखरा नपठाई स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझै बढी फाइदा लिनसक्ने उनी बताउँछन्।

दूधका साथै दही, पनिर, नौनी र घ्यू पनि बिक्री गर्ने गरिएको छ । आठ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यस क्षेत्रका अधिकांश मानिसहरू पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन् । व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुनसक्ने संस्थाका अध्यक्ष केशवबहादुर रानाले बताए ।

गाउँ नजिकै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न समेत सहज भएको छ । कृषकका मागबमोजिम बेलबास दुग्ध उत्पादक सहकारी संस्थालाई दुई वटा डिप फ्रिज अनुदानमा सहयोग गरिएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए । उनले भने, “नगरपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रतिलिटर दूधमा रू एक अनुदान प्रदान गर्दै आएकोमा वृद्धि गर्ने योजना बनाएको छ ।”

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ९ : ०६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको