२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

प्रकृतिका कुचिकार गिद्धको सङ्ख्या कञ्चनपुरमा हरेकवर्ष बढ्दै



कञ्चनपुर । प्रकृतिका कुचिकारका रूपमा चिनिने अति सङ्कटापन्न अवस्थामा रहेका गिद्ध जोगाउनका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइएपछि कञ्चनपुरमा प्रतिवर्ष गिद्धको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ ।

दुई दशकअघि कञ्चनपुरमा ३० देखि ४० को सङ्ख्यामा रहेका गिद्धको सङ्ख्या बढेर हाल २०० को हाराहारीमा पुगेको छ ।

एक्कासि सङ्ख्यामा निकै गिरावट आएपछि कारणको खोजी गर्दा पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिकै कारण गिद्ध मर्ने गरेको कुरा पत्ता लागेपछि यसविरुद्ध अभियान सञ्चालन गरिएको हो ।

अभियानको परिणामस्वरूप डाइक्लोफेनेक औषधिको प्रयोगमा प्रतिबन्धसँगै भारतबाट ल्याउने कार्यसमेत निरुत्साहित गरिएपछि गिद्धको सङ्ख्या विस्तारै बढन थालेको छ ।

पशुको दुखाइ कम गर्ने डाइक्लोफेनेक औषधिको प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएपछि गिद्धको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए ।

“सन् २०१० मा कञ्चनपुरलाई डाइक्लोफेनेकमुक्त घोषणा गरिएसँगै हराउँदै गएका गिद्धको सङ्ख्यामा वृद्धि हँुदै गएको पाइएको छ”, उनले भने, “लोप हुने अवस्थामा पुगेका गिद्ध पुरानै अवस्थामा फर्कन थालेका छन् ।”

उनका अनुसार डाइक्लोफेनेक प्रयोग गरेका पशुको मृत्युपछि गिद्धले सिनो खाँदा मुटु, मिर्गौलालगायतमा असर पुग्न गई गिद्धको मृत्यु हुने गरेको थियो ।

“हाल पशुको दुखाई कम गर्ने डाइक्लोफेनेकको प्रयोग प्रतिबन्धित भएपछि गिद्ध संरक्षणमा टेवा पुगेको छ”, उनले भने, गिद्धले गुँड लगाउने र बस्न रुचाउने अग्ला सिमललगायतका रुखहरु काटिने मासिने क्रममा समेत कमी आएपछि गिद्ध जोगिएका हुन् ।

बासस्थान सुरक्षासँगै गिद्ध जोगाउनका लागि निकुञ्ज आसपासका क्षेत्रमा सचेतना कार्यक्रमलाई अगाडि बढाउन थालेपछि यसको प्रभावका कारण गिद्ध जोगिएको उनको भनाइ छ ।

नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेको भए पनि कञ्चनपुरमा भने सात प्रकारका गिद्ध मात्रै पाइने गरेका छन् । सानो खैरो, डङ्गर, सुनगिद्ध, सेतो, हिमाली, राजगिद्ध, र खैरो गिद्धलगायत कञ्चनपुर, कैलालीलगायतका क्षेत्रमा पाइने गरेका छन् ।

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार सानो खैरो, डङ्गर गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । सुन गिद्ध र सेतो गिद्ध दुर्लभ गिद्धको सूचीमा रहेको छ ।

हिमाली, राज र खैरो गिद्ध सङ्कटको नजिक रहेका छन् । राज र हिमाली गिद्ध भने चिसो याममा मात्रै कञ्चनपुरमा देखापर्ने गरेको छ । यी दुई गिद्ध आगन्तुक गिद्धका रुपमा रहेका छन् । लामो ठुँडे गिद्ध भने यहाँ हालसम्म देखापरेको छैन । हाडफोर प्रजातिको गिद्ध पहाडी क्षेत्र र हिमाली क्षेत्रमा देखापर्ने गरेको छ ।

नेपालमा डङ्गर, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी नौ प्रजातिका गिद्ध पाइएको छ । विश्वमा २३ प्रजातिका गिद्ध पाइने गरेका छन् । गिद्धलाई अहिंस्रक मांशहारी चराका रुपमा लिइने गरिन्छ ।

मरेका जीवजन्तुलाई मात्रै आहारका रुपमा लिने भएकाले गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिने गरिएको हो । चराविज्ञ डगौराले भने, “पर्यावरणीय चक्रलाई सन्तुलित राख्न गिद्धले मद्दत पुर्याउने गर्दछ ।”

धार्मिक आस्थाका रुपमा समेत गिद्धलाई लिइने गरिन्छ । हिन्दूधर्ममा शनिदेवको बाहनका रुपमा गिद्धलाई पूजा गरिँदै आएको छ ।

एक अध्ययनअनुसार गिद्धले औसतमा दैनिक २०० ग्राम जति सिनो खाने गर्दछ । वर्षमा गिद्धले एउटा मात्रै अण्डा पार्ने गर्दछ । भालेपोथी मिलेर अण्डा कोरल्ने, बच्चा हुर्काउने कार्य गर्ने गर्दछन् । कात्तिकदेखि जेठ महिनासम्म गिद्धले प्रजनन् गर्ने गर्दछन् ।

 

गिद्ध गणना

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा शनिबारदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी संरक्षित क्षेत्रमा गिद्ध गणनाको कार्य शुरु गरिएको छ । गिद्ध गणनाका लागि निकुञ्ज कार्यालयबाट ३५ कर्मचारी खटिएका छन् ।

गिद्धको बासस्थान, गुडँ र गिद्धको अवस्थासँगै गिद्धको सङ्ख्या पत्ता लगाउनका लागि गणना कार्य शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले बताउनुभयो ।

गिद्ध गणनासँगै सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएका छन् । प्रत्येक वर्षको सेप्टेम्बर महिनाको पहिलो शनिबार गिद्ध सचेतना दिवस मनाइँदै आएको छ ।

अघिल्ला वर्षहरुमा विभिन्न सचेतनामूलक र्याली, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरु, गिद्ध तस्वीर तथा चित्रकला प्रदर्शनी, सडक नाटक, अन्तक्र्रिया तथा रेडियो कार्यक्रम गरी मनाइँदै आएकामा कोरोना भाइरसको महामारीका कारण सामाजिक सञ्जालमार्फत सन्देश दिने कार्य भइरहेको छ । सन् २००९ देखि प्रतिवर्ष गिद्ध सचेतना दिवस मनाइँदै आएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  १० : २६ बजे

सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको

आज देशभर बदली, लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले