२४ भदौ २०८३, बुधबार | September 9, 2026

सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा



तम्घास । गुल्मीको कालीगण्डकी गाउँपालिकाका किसान किबीखेतीमा आकर्षित भएका छन् । वडा नं १ सिरकोटको सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा लागेको हो ।

मकैलगायत बाली लगाउँदा लागत बढी, उत्पादन र आम्दानी कम भएकाले किसान किबीखेतीमा लागेका हुन् । अहिले किबीको बजार राम्रो भएकाले किसानलाई व्यावसायिक खेतीमा लाग्न प्रेरित गरेको स्थानीय बताउँछन् । सिरकोटका १८ परिवारका नागरिकले अहिले २५० रोपनी क्षेत्रफलमा किबीखेती गरिरहेका छन् । त्यसमा छ हजार ४०० बिरुवा लगाइएको छ ।

स्थानीय लक्ष्मीपति न्यौपानेले आफ्नो बारीमा २०७७ सालमा एक हजार ४०० बिरुवा लगाए । पहिलो उत्पादनका रुपमा गत वर्ष उनले रु दुई लाख ५० हजारको किबी बिक्री गरे । यस वर्ष रु सात लाखको बिक्री गर्ने लक्ष्य राखेको उनले बताए । “गत वर्ष बिक्रीको सुरुको वर्ष थियो, यस वर्ष ४५ क्विन्टल फल्ने अनुमान छ”, न्यौपानेले भने, “बिक्रीबाट प्राप्त भएको आम्दानीले घरखर्च राम्रै चलेको छ ।”

रोजगारीको सिलसिलामा २०६१ सालमा भारत गएका उनी दुई वर्ष बसेर स्वदेश फर्किए । अहिले स्थानीय देउराली माध्यमिक विद्यालयमा अध्यापनसमेत गराउने उनले किबीका साथै एक हजार ४०० सुन्तलाका बिरुवा लगाएका छन् । सोही गाउँमा गगन तरामुका ९०० तथा चन्द्रकला पाण्डेका ८०० किबीका बिरुवा छन् ।

गत वर्ष सिरकोटबाट मात्रै रु १० लाखको किबी निर्यात भएको छ । स्थानीय बजारमा फुटकर प्रतिकिलो रु ३०० र थोकमा प्रतिकिलो २०० मा बिक्री हुन्छ । औसत प्रतिकिलो २५० मा स्थानीय बजारका साथसाथै बुटवल, भैरहवासम्म पनि किबी बिक्री हुने गरेको उन्नतशील कृषि तथा फलफूल कृषक समूहका अध्यक्षसमेत रहेका पदमपाणि पाण्डेले जानकारी दिए । किबीका बिरुवा २०७७ सालमा दोलखाबाट प्रतिबिरुवा रु ३०० मा खरिद गरिएको थियो । पछि कालीगण्डकी गाउँपालिकाले पनि बिरुवामा अनुदान दिएको थियो ।

सिरकोटमा यस वर्ष सबै किसानको गरी रु २० लाखको किबी बिक्री हुने अपेक्षा गरिएको छ । किबीले सामान्यतया लगाएको कम्तीमा चार वर्षदेखि अधिकतम ३५ वर्षसम्म फल दिने गर्दछ । त्यसले गर्दा किसानलाई बिरुवा लगाइरहने झन्झट हुँदैन ।

“यस वर्ष उत्पादन राम्रो छ, हामीले पनि पालिकाका तर्फबाट सक्दो सहयोग गरेका छौँ”, गाउँपालिका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले भनिन्, “किसानलाई बिरुवा, मल, बजारलगायत क्षेत्रमा हामी सहयोग गर्छौं ।” उनले सिरकोटलाई किबीको नमुना गाउँको विकास गर्ने लक्ष्य पालिकाले लिएकाले किसानको समस्यामा पालिकासँगै रहने बताइन् ।

किबीखेतीमा आकर्षित भएका किसानलाई राज्यकातर्फबाट राम्रो सहयोग मिलेको छ । सिँचाइका लागि जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले दुई वटा पोखरी निर्माण गरेको छ । सिरकोट किबीखेती पोखरी जल पुर्नभरव योजनाबाट चालु आर्थिक वर्षमा सिँचाइ विकास डिभिजन कार्यालयले ७५ घनमिटरका ६५ हजार लिटर पानी अट्ने पोखरी निर्माण गरेको हो । आकाशे पानी र खेर गएको पानी पोखरीमा जम्मा हुनेछ भने खडेरीका बेला पोखरीबाट सिँचाइ हुनेछ ।

रु १० लाखमा निर्माण भएका पोखरीबाट किसानलाई धेरै राहत मिलेको छ । “कृषिजन्य सामग्रीको उत्पादन बढाउने लक्ष्य हो”, कार्यालय प्रमुख भरत सापकोटाले भने, “कार्यालयका तर्फबाट जिल्लाभर कुलो, पोखरी लगायतका क्षेत्रमा काम गरिरहेका छौँ ।” उनले सिरकोटका किसानको लोभलाग्दो मेहनत भएको पनि बताए । त्यसैगरी कृषि ज्ञान केन्द्रले पनि दुई वटा पोखरी बनाएको छ भने किबीका लागि आवश्यक पिल्लरमा अनुदान दिएको छ । त्यसैगरी गाउँपालिकाले पनि अहिलेसम्म दुई हजार ५०० बिरुवा अनुदानमा उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  १ : ०१ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु