२ पुस २०८२, बुधबार | December 17, 2025

जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नु आजको आवश्यकता हो : उपराष्ट्रपति यादव



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देश र आमनागरिकप्रति उत्तरदायी सरकार, संवैधानिक मर्यादाको पालना र जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन ।

अठारौँ गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले मुलुकमा विद्यमान सबैखाले चुनौतीहरूको समाधान दलीय स्वार्थबाट माथि उठेर गर्न जरूरी रहेको र यसमा नेतृत्व वर्गको भूमिका महत्वपूर्ण हुने धारणा राखे । लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने, आमनागरिकको आवाज सुन्ने र सुशासन स्थापित गर्ने आफ्नो दायित्व र कर्तव्यबोधका साथ दलहरूले जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।

“गणतन्त्र दिवस लोकतान्त्रिक मूल्यहरूलाई स्मरण गर्ने अवसर हो, नागरिक अधिकार, समानता र विधिको शासनलाई थप सुदृढ गर्दै आमनागरिकको सङ्घर्ष र योगदानलाई सम्मान गर्ने माध्यमका रूपमा यो दिवसलाई लिन सक्नुपर्दछ”, शुभकामनाका सन्देशमा भनिएको छ, “नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले नागरिकका अधिकार, समानता, समावेशिता र सहभागिता सुनिश्चित गरेको छ । विश्वकै उत्कृष्ट यस शासन प्रणालीका सिद्धान्तलाई कार्यान्वयन गर्न हाम्रो संविधान एउटा महत्वपूर्ण आधारस्तम्भ हो ।”

उपराष्ट्रपति यादवले सङ्घीयता, समावेशिता र समानतालाई संस्थागत गर्दै संविधानले निर्वाचन प्रणाली, लोकतान्त्रिक शासन व्यवस्था, मौलिक अधिकार र प्रेस स्वतन्त्रतालाई प्रभावकारी रूपमा आत्मसात् गरेको उल्लेख गरे । आमनागरिकको विश्वास आर्जित गर्न, राजनीतिक स्थिरता कायम राख्न र मुलुकको आर्थिक–सामाजिक उन्नतिलाई मूल विषय बनाएर अघि बढ्न ढिलाइ गर्न नहुने बताउँदै उनले राजनीतिक दल र तिनका नेतृत्वले स्वच्छ शासन व्यवस्था, पारदर्शिता र राजनीतिक उत्तरदायित्व निर्वाहमा चुके लोकतन्त्र कमजोर हुन सक्ने पनि बताएका छन ।

“पछिल्लो समय आमनागरिकमा बढ्दो निराशा, कुण्ठा र असन्तुष्टिहरूको तत्काल सम्बोधन गर्दै लोकतान्त्रिक विधिमार्फत अघि बढ्न सक्नुपर्दछ, यसका लागि यो गणतन्त्र दिवसलाई एउटा महान् अवसरका रूपमा लिँदै सबैले संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिने, लोकतन्त्रलाई बलियो र सुदृढ बनाउने अठोट र प्रणका साथ अघि बढ्न अति आवश्यक छ”, उपराष्ट्रपति यादवले भनेका छन, “राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुनेगरी स्थापित वर्तमान शासन व्यवस्था नेपाली वीर सपुतहरूको असाधारण सङ्घर्ष, त्याग र बलिदानबाटै सम्भव भएको हो । यो व्यवस्थासँग जोडिएका जनअपेक्षाहरुलाई आग्रह-पूर्वाग्रहबिना नै सम्बोधन गर्दै आमनागरिकलाई आशावादी बनाउन हामी सबै आ-आफ्नो स्तरबाट जिम्मेवार भई थप क्रियाशील हुन जरूरी छ ।”

उपराष्ट्रपति यादवले गणतन्त्र शासकीय शक्ति जनताको हातमा हुने महत्वपूर्ण राजनीतिक प्रणाली भएको र जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूमार्फत सरकारको नेतृत्व गर्दै जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म भएको उल्लेख गर्दै जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरूप सबै एक ढिक्का र एकीकृत भई अघि बढ्न सके मात्र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुनसक्ने बताएका छन ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ७ : ३९ बजे

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी