खजुरा । स्थानीयबासीले फुटपाथ मै गोठ बनाइदिने र सडकमा खुल्ला छाडा चौपाया चराउने गरेपछि हरियाली सहितको नेपालगन्ज-गुलरिया हुलाकी सडक निर्माणको योजनामा अवरोध उत्पन्न भएको छ । नेपालगन्ज गुलरिया हुलाकी सडक खण्डको बाँके जानकी गाउँपालिका मानपुरका स्थानीयले सडकलाई चरण र फेटपाथमा गोठ बनाएपछि हरियाली सहितको हुलाकी सडक निर्माणमा अवरोध उत्पन्न भएको छ ।
जानकी गाँउपालिका ३ को मानपुर खण्डमा बाहेकका सडकमा बिरुवाहरु हुर्केर हरियाली देखिँदै गर्दा मानपुर खण्डमा भने उजाड र नाङ्गो देखिएको छ । ४ लेन सडकको डिभाइडरमा हरियाली बनाउने गरि ठेक्का पाएको शर्मा एण्ड कम्पनीले पटक पटक बिरुवा लगाउँदा पनि गाईबस्तुले खानेर र उखेलिदिने गरेपछि हरियाली अभियानमा समस्या उत्पन्न भएको जनाएको छ । ३ पटक सम्म तार जाली सहित बिरुवा लगाउँदा पनि गाईबस्तुले बिरुवा नष्ट गरिदिएको कम्पनीको योजना प्रमुख नबीन शर्माले बताए । उनले बिरुवा संरक्षणका लागि स्थानीय पालीकासँग गुहार मागेपनि पालिकाबाट सुनुवाई नहुँदा समस्या आएको बताए ।
सो सडक अन्गर्तत दुर्घटनाग्रष्त क्षेत्र मानिएको मानपुरका स्थानीयले गाईबस्तु फुटपाथमै बाँध्ने गरेको र सडकमा नै गाईबस्तु चराउने गरेका कारण बिरुवा हुर्काउन असहज बनेको हो । हुलाकी सडक निर्देशनालय, योजना कार्यालय नेपालगन्जले सडक किनारमा गाईबस्तु नबाँध्न र सडकमा चरण नबनाउन सूचना जारी गरेपनि स्थानीयले सूचनाको बेवास्ता गरिरहेका छन् । सडक सुरक्षाका लागि कानुन कार्यान्वयनमा तदारुकता नदेखाउँदा सडक निर्माणमा लगानी भएको ठेलो परिमाणको रकम उद्देश्यबिहिन बन्न पुगेको छ ।
सूचना जारी गरिएपनि कानुन कार्यान्वयन गर्न नसकिएका कारण सडकमा छाडा चौपायाले दुःख दिएको हुलाकी सडक योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बताए । सूचना बमोजिम छिट्टै सडकबाट छाडा चौपाया उठाउने र फुटपाथमा गोठ बनाउनेमाथि कारवाही गरिने भण्डारीले जनाए ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर बिकले आफुले कानुन कार्यान्वयनको प्रयास गरेपनि स्थानीयले अटेर गरेको बताए । पालिका क्षेत्रमा पर्ने अन्य क्षेत्रमा सहज भएपनि मानपुर मोडमा सडक पेटीमा भैंसी बाँध्ने र सडकमा गाईबस्तु चराउने गरेको उनले स्वीकार गरे । ‘निवेदन आएपछि २ महिना पहिले वडालाई पत्र पठाइएको हो,’ उनले भने, ‘स्थानीयले अटेर गरेपछि समस्या देखिएको छ । अव म आफै गएर स्थानीयलाई सम्झाई बुझाई गर्छु ।’
३२ दशमलव नौ किलोमिटर लम्बाइको रहेको नेपालगन्ज–गुलरिया सडकमध्ये २२ दशमलव सात किलोमिटर चार लेन र १० दशमलव दुई किलोमिटर दुई लेनको निर्माण सम्पन्न भएको छ । बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा स्तरोन्नति गरिएको छ ।
सडक स्तरोन्नतिका लागि रु दुई अर्ब ६९ करोडमा शर्मा एण्ड कम्पनीले ठेक्का पाएको थियो । ठेक्का सम्झौता भन्दा १ वर्ष पहिले नै निर्माणको काम सम्पन्न भएको छ भने अहिले सडकको रेखाङ्कन र सौन्र्यकरणको काम भइरहेको छ । यो सडक निर्माणपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगन्ज पुग्न सहज हुने हुलाकी सडकका योजना प्रमुख भण्डारीले बताए ।
खजुरा बजार खण्डको १८ सय मिटरको कन्तबिजोग
नेपालगन्ज(गुलरिया खण्ड तयार भएर सरर गाडी गुड्न थाल्दा खजुरा बजार क्षेत्रको १८सय मिटर सडकको भने कन्तबिजोग भएको छ ।
बाँकेको खजुरा तथा बर्दियाको गुलरिया सडक खण्डमा निर्माणाधिन सडकको तीन पटक म्याद थप, दर्जनौपटक काम सुधारको ताकेता र त्यस यता पनि लगातार बिभिन्न सुबिधा दिएर काम गर्ने अवसर दिँदा पनि ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनबाट काम हुन नसकेपछि गत वर्षको साउन २८ गते ठेक्का सम्झौता तोडिएको थियो । तर ठेक्का सम्झौता तोड्ने सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय नेपालगन्जका विरुद्ध ठेकेदारले मुद्दा दर्ता गराएर अलपत्र सडकमा काम गरे जस्तो नाटक सुरु गरेको थियो ।
सम्झौता अनुसारको गुणस्तरमा लापरवाही सुधार गर्न, समयसिमाभित्र काम सम्पन्न गर्न र ठेकेदारको माग अनुसार पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने तदारुकता नदेखाएपछि डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता तोडेको थियो ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको चरम लापरवाहीका विरुद्ध स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । स्थानीयले सम्झौता ताडेर कालो सूचीमा राख्न माग हुँदै आएपनि ठेकेदार कम्पनीले सडकको विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गराएर खजुरा सडक खण्डको अवस्था थप कन्त विजोग बनाउने योजना बनाएको खजुराका स्थानीय अगुवा रोसन सापकोटाले बताए ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो ।
पछिल्लो समय भने नागरिकको पटक पटकको माग पछि हुलाकी सडकको योजना कार्यालय नेपालगन्जले सो सडक बनाउन सकिने संकत गरेको छ । बाँकेका जनप्रतिनिधिहरुको सिफारिस र नागरिक स्तरको पटक पटकको आन्दोलन पछि हुलाकी सडक निर्देशनालयमा नेपालगन्ज गुलरिया सडकको बिचभागमा रहेको १ हजार ८०० मिटर निर्माणमा चासो देखाएको स्रोतको भनाई छ । जनप्रतिनिधिहरुबाट सिफारिस आएको स्वीकार गर्दै केन्द्रको निर्देशन पाए सडकको स्तरोन्नती गर्न सकिने योजना कार्यालय प्रमुख भण्डारीले बताए ।


















प्रतिक्रिया