१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन


१ भदौ २०८२, आइतबार  

39
Shares

घोराही । पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या घट्दै गएको छ । नयाँ पुस्तामा सारङ्गी बाजाप्रति रुचि नभएका कारण यसको सङ्ख्या घट्दै गएको हो ।

गाउँमा सारङ्गी बाजा बजाउने मानिस नहुँदा बनाएका सारङ्गी बिक्रीमा पनि समस्या भइरहेको घोराही उपमहानगरपालिका–११ नयाँ बस्ती निवासी डाइवर गन्धर्व बताउँछन् ।

करिब तीन दशक बढी समयदेखि सारङ्गी बाजा बनाउँदै आउनुभएका डाइवर पछिल्लो समय आफ्नो पेसा सङ्कटमा परेको बताउँछन्। सारङ्गी बजाउने मानिस कम हुँदै जाँदा बिक्री पनि हुन छाडेको भन्दै उनले भने, “पहिले सारङ्गी बिक्ने हुँदा राम्रै आम्दानी हुन्थ्यो, तर अहिले सारङ्गी बिक्नै छाडिसकेको छ । बनाउने काममात्र होइन, अब त कोठामा सजाएर राख्ने काम मात्र भएको छ ।”

डाइवर गन्धर्वका अनुसार समय परिवर्तनसँगै गन्धर्वहरूले गीत गाउन र सारङ्गी बजाउन छाड्दै जाँदा यो पेसा नै ओरालो लागेको छ । पहिलेजस्तै सबैले गीत गाउने र सारङ्गी बनाउने गरे त राम्रै हुन्थ्यो होला तर अहिले गाउँमा सारङ्गी बजाउन जान्ने सीमित मानिसमात्र छन् । गाउँमा सारङ्गी बजाउने मानिस नहुँदा बिक्री पनि हुन छाडेको उनले बताए । गाउँमा सारङ्गी बजाउने कोही भए पो बनाएका सारङ्गी बिक्थे । अहिले बजाउने मान्छे नै छैनन्, त्यही भएर बिक्री पनि हुँदैनन् । बनाएका नबिक्दा थप नयाँ बनाउन पनि मन लाग्दैन । पहिले महिनामा सात–आठवटा सारङ्गी बिक्री हुने गरे पनि अहिले दुई–तीन जतिमात्र बिक्री हुने गरेको बताउँछन्।

त्यसैगरी, सारङ्गी बनाउने कलामात्र सङ्कटमा परेको होइन, आवश्यक सामग्रीको अभाव पनि मुख्य समस्या बनेको छ । सारङ्गी बनाउन राम्रो काठ चाहिने भए पनि पछिल्लो समय खमारी पाउनै समस्या भएको उनी बताउँछन्। जिल्लामै सारङ्गी बनाउने आफूमात्र भएको भन्दै उनले भने, “आफ्नो मौलिक बाजा बजाउन र बनाउन नयाँ पुस्ताले चासो नदिने हो भने सारङ्गी बनाउन काठमात्र होइन, आफ्नो पहिचान नै हराउने जोखिम छ ।”

सामुदायिक वनका कारण जङ्गलमा जान नपाइने र चिनेका काष्ठ उद्योगबाट खमारी काठ ल्याएर सारङ्गी बनाउने गरेको उनी बताउँछन् । उनका अनुसार साना आकारका सारङ्गी रु चार हजारदेखि पाँच हजारसम्म बिक्री हुने गरेका छन् भने ठूला र आकर्षक डिजाइनका सारङ्गी रु नौदेखि १० हजारसम्ममा बिक्री हुने गरेको डाइवर बताउँछन्।

सारङ्गीको महत्व र संरक्षण घट्दै जाँदा सारङ्गी बजाएरै जीविका चलाउनेलाई चिन्ता लाग्न थालेको छ । सारङ्गी बाजाको संरक्षण गर्दै, यसलाई व्यावसायिक बनाउन सके, कला संस्कृतिको संरक्षण र रोजगारीको अवसर सृजना हुने गन्धर्व समुदायका मानिस बताउँछन् ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ९ : १४ बजे

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।