काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म थुनिएर शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले बाढी आएको दिन आयोजनाभित्र ४० देखि ४५ जनासम्म रहेको बताएका छन्।
उद्धारपछि काठमाडौं ल्याएर अस्पतालमा भर्ना गरिएका साहले उद्धारकर्मीहरूसँगको संक्षिप्त संवादमा सुरुङ तथा पावर हाउस क्षेत्रमा अझै धेरै मानिस फसेको हुनसक्ने बताएका हुन्।
साहका अनुसार उनी आयोजनाको कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत थिए। सामान्य अवस्थामा कन्ट्रोल रुममा चार-पाँच वा बढीमा छ जना मात्रै हुने भए पनि बाढी आएको दिन आयोजनाभित्र ४०-४५ जना रहेको उनले बताए।
‘कन्ट्रोल रुममा म भएपछि सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो,’ उनले भने, ‘त्यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्यो।’
बाढीका कारण ठूलो दुर्घटना भएको थाहा पाएपछि आफूले अरूलाई भाग्न भनेको उनले बताए। सबैलाई सुरक्षित स्थानतर्फ जान लगाउने क्रममा आफ्नो समय बितेकाले अन्तिममा आफू बाहिर निस्कन नसकेको उनको भनाइ छ।
‘सबैलाई बचाउने क्रममा मैले सबैलाई एक्सिडेन्ट भयो, सबै भाग्न भनेँ। त्यसो गर्दाखेरि मेरो टाइम गयो। लास्टमा म निस्किनै पाइनँ अनि म फसेँ,’ साहले भने।
उनका अनुसार आयोजनाको सुरुङ लामो रहेकाले त्यसभित्र अझै मानिसहरू फसेको हुनसक्छ। पावर हाउसमा पनि मानिसहरू रहेको हुनसक्ने उनले बताए।
‘सबै भाग्न नसकेको होला। टनेल लामो छ। त्यहाँ पानी पनि भित्र पसेको होला,’ उनले भने।
बाढीपछि आफूहरूको सम्पर्कमा तीन–चार जना साथी मात्रै रहेको पनि साहले बताए। सुरुङभित्र पानीको ठूलो बहाव पसेका कारण अन्य मानिसहरू थप भित्रतर्फ बगेको हुनसक्ने उनको आशंका छ।
रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा साहसहित केही व्यक्ति फसेका थिए। बाढी आएको १० दिनपछि शुक्रबार नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले साह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई जीवितै उद्धार गरेको हो।
१० दिनसम्म सुरुङभित्र रहेर शुक्रबार बाहिर निस्किएका साहले आफूले त्यहाँ महामन्त्र जप गर्दै बसेको पनि बताए।
उद्धारकर्मीले ‘धेरै दिनपछि बाहिर निस्किनुभएको छ, आज त दोस्रो जीवन भयो’ भन्दै बधाई दिएपछि साहले आफूलाई आज १९ गते भएको थाहा भएको बताएका थिए।
उक्त आयोजनामा फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य भने जारी छ।
















प्रतिक्रिया