बुटवल । रूपन्देहीमा मंगलबार राति साढे ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । जेनजी आन्दोलनका क्रममा लुटपाट र तोडफोड तीव्र भएपछि स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश लागू गरेको हो ।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले आन्दोलन अनियन्त्रित भएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जिल्लाभर कर्फ्यू जारी गरिएको जानकारी दिए । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै अर्को आदेश नभएसम्म कर्फ्यू जारी रहने स्पष्ट पारेको छ ।
आन्दोलनको क्रममा जिल्लाका विभिन्न स्थानमा मन्त्री, सांसद, राजनीतिक दलका नेता, मेयर, वडा अध्यक्षलगायतका घरमा आगजनी भएको छ । साथै बुटवलका अधिकांश सरकारी कार्यालयहरू ध्वस्त भएका छन् ।
आगलागी र तोडफोडबाट बुटवल उपमहानगरपालिका, उच्च अदालत, आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, इलाका प्रशासन, डिभिजन सडक कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धार्थनगर नगरपालिका लगायतका कार्यालयहरूमा ठूलो क्षति पुगेको छ ।
त्यस्तै, प्रदर्शनकारीहरूले बुटवलको मिलनचोकस्थित ड्रिम इन्टरनेशनल होटल र भाटभटेनी सुपरमार्केटमा समेत लुटपाट गरी आगजनी गरेका छन् ।


















प्रतिक्रिया