२४ भदौ २०८३, बुधबार | September 9, 2026

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले



काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई असामान्य, अस्वाभाविक र अलोकतान्त्रिक भन्दै त्यसको गहिरो छानबिन गर्न माग गरेको छ ।

भदौ २४ गतेको विध्वंशको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै एमालेले घटनामा ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विध्वंशपछि पुनर्निर्माणको प्रयासमा रहेका राजनीतिक-सामाजिक व्यक्तित्व तथा व्यवसायीप्रति पुनरुत्थानको शुभेच्छा व्यक्त गरेको छ ।

एमालेले लोकतन्त्रमा नागरिकले सरकारसमक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र माग प्रस्तुत गर्नु स्वाभाविक भएको उल्लेख गर्दै नेपालको संविधानले वाक तथा अभिव्यक्ति स्वतन्त्रतासहित शान्तिपूर्ण रूपमा भेला हुने, विरोध गर्ने तथा लोकतान्त्रिक माध्यमबाट सरकार गठन, पुनर्गठन र परिवर्तन गर्ने अधिकार सुनिश्चित गरेको जनाएको छ ।

तर गत वर्ष भदौमा भएको घटनाक्रमले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक र अराजक बनाउँदै लोकतन्त्रमाथि आक्रमण गर्ने प्रयास भएको एमालेको दाबी छ । सामाजिक सञ्जालको निर्वाध सञ्चालन र सुशासनलगायत विषयमा शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति मागिएको भए पनि विभिन्न आपराधिक समूहले प्रदर्शनमा घुसपैठ गरी त्यसलाई हिंसात्मक स्वरूपमा परिणत गरेको एमालेले जनाएको छ ।

एमालेका अनुसार प्रदर्शन आयोजकहरूले कार्यक्रम स्थगित भएको घोषणा गरेपछि पनि घुसपैठ गरेका समूहले युवाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दै संसद भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए । भीड नियन्त्रण गर्ने क्रममा भएको प्रहरीको बल प्रयोगमा १९ जना युवाले ज्यान गुमाएको घटनाप्रति एमालेले दुःख व्यक्त गरेको छ ।

त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्ने, सामाजिक सञ्जालमाथि लगाइएको अस्थायी बन्देज हटाउने, घाइतेको निःशुल्क उपचार गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको एमालेले स्मरण गराएको छ । घटनाको नैतिक जवाफदेही लिँदै तत्कालीन गृहमन्त्रीले राजीनामा दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

एमालेले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक तथा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र आक्रमणलाई नेपालको इतिहासकै कालो अध्यायका रूपमा चित्रण गरेको छ ।

प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि समेत विध्वंसका घटना भएको उल्लेख गर्दै एमालेले भदौ २४ को घटना अघिल्लो दिन युवाको मृत्युबाट उत्पन्न आवेग वा आक्रोश मात्र नभएको दाबी गरेको छ । उक्त घटनालाई राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील बाटो उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने योजनाको परिणाम भएको एमालेको आरोप छ ।

एमालेले शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन आवश्यक रहेको जनाएको छ । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा दोषी ठहर गर्दै गिरफ्तार गर्ने तथा मुद्दा चलाउने प्रयास भएको दाबी गर्दै एमालेले सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएकोमा प्रश्न उठाएको छ ।

भदौ २४ को विध्वंसमा संलग्न आरोपितलाई उन्मुक्ति दिने तथा उनीहरूविरुद्ध सुरु भएका अनुसन्धान र अभियोजन प्रक्रिया रोक्ने काम भएको भन्दै एमालेले त्यसले राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको आरोप लगाएको छ ।

राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई रोक्न नसकेको विषयमा पनि एमालेले प्रश्न उठाएको छ । सुरक्षा निकायको व्यावसायिक क्षमता वा निष्ठामध्ये कुन पक्षमा कमजोरी भयो भन्नेबारे यथोचित उत्तर खोजिनुपर्ने एमालेको भनाइ छ ।

एमालेले लोकतन्त्र र शान्तिका लागि नेपालले विगतमा स्थापित गरेको दृष्टान्तलाई हिंसा र अराजकताले कमजोर पार्ने जोखिम बढेको जनाएको छ । जनअसन्तुष्टिका नाममा हिंसा र अराजकतालाई वैध तथा नियमित प्रक्रिया बनाइए मुलुकले पटक-पटक यस्तै पीडा भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।

विज्ञप्तिमार्फत एमालेले हिंसालाई ‘नाइँ’ भन्न, अराजकताको अन्त्य गर्न, दण्डहीनता रोक्न तथा राज्यका संरचनामाथि आक्रमण गर्नेहरूलाई कानुनी कारबाही गर्न अपिल गरेको छ । सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार्य हुन नसक्ने धारणा पनि एमालेले दोहोर्‍याएको छ ।

त्यस्तै, पछिल्लो समय लोकतन्त्र स्थापना र संरक्षणमा भूमिका खेलेका राजनीतिक दल तथा नेतृत्वविरुद्ध प्रतिशोध, घृणा र निषेधको अभियान चलाइएको एमालेको आरोप छ । राष्ट्रपति संस्था, संसद, न्यायालय, नागरिक समाज तथा लोकतन्त्रका आधारस्तम्भको मानमर्दन गर्ने क्रम बढेको र संविधानका आधारभूत संरचना कमजोर बनाउने प्रयास भइरहेको भन्दै एमालेले चिन्ता व्यक्त गरेको छ ।

विध्वंसका कारण अर्थतन्त्रमा परेको असर अझै कायम रहेको, व्यवसायीको मनोबल कमजोर बनेको तथा सामाजिक सद्भाव, सहिष्णुता र असल संस्कारमाथि चुनौती थपिएको एमालेले जनाएको छ । मुलुक भूराजनीतिक द्वन्द्वमा धकेलिने जोखिमसमेत बढ्दै गएको उसको दाबी छ ।

एमालेले नवयुवाहरूका सरोकार, अपेक्षा र मनसाय असल रहेको उल्लेख गर्दै ‘जेन्जी विद्रोह’का नाममा भएको हिंसा र विध्वंसमा नवयुवाहरूको संलग्नता नरहेको दाबी गरेको छ । अन्य तत्वले घटनाबाट लाभ लिएको र तिनै ‘लाभग्राही’हरूको भूमिकाका कारण नवयुवामा निराशा पैदा भएको एमालेको निष्कर्ष छ ।

लोकतन्त्र, संविधान, राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान र शान्तिको रक्षाका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्ति र व्यक्तिहरू सक्रिय हुनुपर्ने भन्दै एमालेले सम्बद्ध सबै पक्षलाई सहकार्यका लागि अपिल गरेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ८ : २० बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४