काठमाडौं । गायिका एलिना चौहानले तीन महिना लामो अमेरिकाको सांगीतिक यात्रा आफूका लागि सुखद् नभएको बताएकी छन् । उनले कार्यक्रम आयोजकले कलाकारप्रति सम्मानजनक व्यवहार नगरेको र आफूलाई ‘नोकर’ वा ‘कैदी’ झैँ व्यवहार गरेको आरोप लगाएकी छन् ।
एलिनाका अनुसार, यो यात्रा आफ्ना लागि ठूलो सिकाइ बनेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “जस्तो छ, त्यस्तै भन्छु – यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो । कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो ।”
उनले थपेकी छन्, “एउटा कुरा स्पष्ट भन्न चाहन्छु – आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन । कलाकार धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ । नराम्रा अनुभवले धेरै कुरा सिकायो । अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् भन्ने चाहना छ ।”
फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिका भरका विभिन्न सहरहरूमा ‘अब सुन्छ अमेरिका’ शीर्षकमा सांगीतिक कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा एलिनासँगै गायक बद्री पंगेनी र प्रताप दासले पनि प्रस्तुति दिएका थिए ।
सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म चलेको उक्त सांगीतिक यात्रामा न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो र सन फ्रान्सिस्को लगायतका सहरहरूमा कार्यक्रम सम्पन्न भएका थिए ।
कार्यक्रम सकिएलगत्तै एलिनाले आयोजकको व्यवहारप्रति सार्वजनिक असन्तुष्टि जनाउँदै कलाकारको सम्मान र अधिकारको विषय उठाएकी हुन् ।



















प्रतिक्रिया