काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रसहित उपल्लो मुस्ताङमा गएरातिदेखि बाक्लो हिमपात भइरहेको छ । वर्षासँगै सुरु भएको हिमपातले सम्पूर्ण क्षेत्र सेताम्य बनेको छ ।
हिमपातका कारण यात्रु तथा तीर्थयात्रीको आवागमनमा कठिनाइ भएको छ । त्यसैगरी, मुस्ताङ जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा पदयात्रा नगर्न सर्वसाधारण र पर्यटकलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मुस्ताङका उच्च हिमाली क्षेत्रहरू मुस्ताङ-डोल्पा, याकखर्क, मनाङ-मुस्ताङ थोरङला पास, मुस्ताङ-मनाङ सरिबुङ पास र मुस्ताङ-म्याग्दीको धम्पुस पिकलगायतका क्षेत्रमा हल्कादेखि भारी हिमपात हुने सम्भावना रहेको छ ।
मौसम विभागका अनुसार बुधबारसम्म मुस्ताङका विभिन्न भागमा हिमपात र वर्षा जारी रहने अनुमान छ । यस कारण पर्यटक, तीर्थयात्री र स्थानीय बासिन्दालाई मौसमको जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।
तिहारको छेकोमा मुस्ताङसहितका हिमाली क्षेत्रमा पदयात्री र पर्यटकको भीड बढिरहेको बेला यस्तो चेतावनी जारी गरिएको हो ।



















प्रतिक्रिया