काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि मधेशका जनतालाई धोका दिएको आरोप लगाएका छन् ।
सोनलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई सुटुक्क मुख्यमन्त्री पदमा नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश प्रमुखले जनमत र नैतिकता विपरीत कदम चालेको दाबी गरेका छन् ।
उनका अनुसार स्वास्थ्य उपचारका नाममा मधेशबाट निस्किएकी प्रदेश प्रमुखले सिन्धुली र महोत्तरीको सीमास्थित एक होटलमा बसेर मधेशको अस्मितालाई समाप्त पार्ने खेल खेलेकी हुन् ।
सोनलले फेसबुकमा लेखेका छन्, “मधेश प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्।”
यसअघि विश्वासको मत नपाएपछि सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।


















प्रतिक्रिया