जनकपुरधाम । मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलमाथि दर्ता भएको महाभियोग प्रस्तावमाथि आज छलफल हुनेभएको छ ।
महाअभियोगमाथि छलफल गर्न आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार उपसभामुख बबिता राउत ईशरले बैठक आह्वान गरेकी हुन् ।
बैठकमा सभामुखले पदअनुकूल आचरण नगरेको आरोपसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ। यस सम्बन्धी सूचना प्रदेशसभा सदस्यहरूलाई पठाइएको सचिवालयले जनाएको छ।
यसअघि नेकपा संसदीय दलका नेता भरत साहले ३२ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बैठक बोलाउन माग गर्दै मंगलबार पत्र पेस गरेका थिए।
गत कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरण नदेखाएको आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता गराएका थिए। कानुनअनुसार सो प्रस्तावमाथि एक साताभित्र सदनमा छलफल गर्नुपर्ने व्यवस्था छ।


















प्रतिक्रिया