बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगावाँ निवासी ५८ वर्षीय बङ्गुर (लम्बु) हरिजन रहेका छन् ।
इलाका प्रहरी कार्यालय मझगावाँका अनुसार हरिजनको सोही वडास्थित दुईमोहान पुल नजिक अत्यधिक चिसोका कारण मृत्यु भएको हो । उनी लुम्बिनीस्थित महिलवारमा औषधि उपचार गराएर घर फर्किने क्रममा चिसोले असह्य भएपछि बाटोमै ढलेका थिए ।
इलाका प्रहरी कार्यालय मझगावाँ, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक तपेन्द्र विष्टले मंगलबार बेलुका करिब ४ः३० बजे पुल नजिकै हरिजन लडेको अवस्थामा भेटिएको जानकारी दिए । प्रत्यक्षदर्शीहरूका अनुसार उनी बजारबाट घर फर्किंदै गर्दा अचानक ढलेका थिए ।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक चिसोका कारण स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको थप विवरण संकलन तथा आवश्यक अनुसन्धान कार्य जारी रहेको छ । चिसो बढ्दै गएको यस मौसममा विशेषगरी वृद्ध, बिरामी तथा कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिहरूलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।



















प्रतिक्रिया