१६ पुस २०८२, बुधबार | December 31, 2025

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड



बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बुटवलमा बुटवल सडक खाना महोत्सव-२०८२ सुरु भएको छ । पुस १५ गतेदेखि सुरु भएको महोत्सव बुटवल उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो ।

महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रात्रीकालीन बजारमार्फत सहरलाई थप चलायमान बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताए । उनले कालिका पथलाई बुटवलको ‘सपनाको पथ’ का रूपमा विकास गर्ने योजनासहित व्यापार, पर्यटन र संस्कृतिलाई एकसाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तह, निजी क्षेत्र र समुदायबीच सहकार्य भए मात्र यस्ता कार्यक्रम दिगो बन्ने उनको भनाइ थियो ।

महोत्सव उद्घाटनअघि निकालिएको सांस्कृतिक ¥यालीमा विभिन्न जातीय तथा सांस्कृतिक समूहको उल्लेखनीय सहभागिता देखिएको थियो । प्रतियोगितात्मक रूपमा आयोजित ¥यालीमा नेवा समाज अर्घाखाँची-रुपन्देही प्रथम हुँदै नगद १५ हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । उचडिहवा स्वावलम्बन समूह दोस्रो हुँदै १० हजार र राष्ट्रिय लोकभजन समूह तेस्रो हुँदै ७ हजार रुपैयाँसहित सम्मानित भए । त्यस्तै बुद्ध टोल विकास संस्था, पशुपति टोल विकास संस्था, मनकामना, समावेशी, मिलनटोल, तिनाउ टोल तथा स्वावलम्बन महिला रोजगार क्षेत्री महिला दीदीबहिनी समूहलाई सान्त्वना पुरस्कार स्वरूप जनही ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव कुमार खनालले पर्यटन प्रवर्द्धनका लागि राज्यले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रको लगानी सुरक्षित हुने वातावरण निर्माण भए पर्यटन क्षेत्रले ठूलो योगदान दिन सक्ने उनको भनाइ थियो ।

बुटवल उद्योग संघ रुपन्देहीका अध्यक्ष हरि अर्यालले यस्ता महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउने बताए । होटल एसोसिएसन नेपालका प्रतिनिधि गोपाल रानाले कालिका पथलाई स्थायी रात्रिकालीन बजारका रूपमा विकास गर्न सरकारको सहयोग आवश्यक रहेको बताए । उनले सीमावर्ती भारतीय पर्यटकलाई आकर्षित गर्न सके ठूलो आर्थिक लाभ लिन सकिने उल्लेख गरे ।

संघका सल्लाहकार माधव नेपालले सडक महोत्सवलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थायी स्थान तोक्न स्थानीय सरकारसँग आग्रह गरे । ¥याली संयोजक एकदेव पाण्डे (सुरज) का अनुसार सांस्कृतिक झाँकीमा विभिन्न जातजातिको मौलिक पहिचान झल्कने पोसाक, बाजागाजा र नृत्य प्रस्तुत गरिएको थियो ।

संघका महासचिव केशवराज कंडेलका अनुसार महोत्सवमा १३ वटा संघ-संस्था तथा समूहको सहभागिता रहेको छ । स्वाद, संस्कृति र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु भएको बुटवल सडक खाना महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ ।

 

 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ८ : १९ बजे

नेपाली महावाणिज्यदूत र सिजाङ अध्यागमनका महानिर्देशकको भेट

काठमाडौं । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ (तिब्बत)

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय मेलमिलाप आवश्यक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व