६ श्रावण २०८३, बुधबार | July 23, 2026

१७ वर्षीय ईशानको रहस्यमय मृत्युले उठायो गम्भीर प्रश्न : ‘दुर्घटना होइन, सुनियोजित हत्या’



बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका-३ रुद्रपुरमा १७ वर्षीय ईशान शर्मा पौडेलको रहस्यमय मृत्युले स्थानीयवासी मात्र होइन, सिंगो समाजलाई स्तब्ध बनाएको छ । पुस ३ गते बिहान घर नजिकैको नालीमा मृत अवस्थामा भेटिएका ईशानको मृत्यु दुर्घटना नभई सुनियोजित हत्या भएको दाबी परिवारजनले गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई सार्वजनिक गर्न माग गरेका छन् ।

पुस २ गते साँझ विद्यालयबाट फर्किएपछि ईशान साथीहरूसँग जिम जान घरबाट निस्किएका थिए । साँझ करिब साढे सात बजे रुद्रपुरको सुनगाभा चोकमा उनी साथीसँग छुट्टिएको सीसीटीभी फुटेजमा देखिएको छ । हातमा जुत्ता बोकेर हिँडिरहेको त्यो दृश्य नै उनको अन्तिम दृश्य बनेको परिवारको भनाइ छ । त्यसपछि घर नफर्किएपछि परिवारले सुरुमा साथीकोमा बसेको होला भन्ने सोचेको थियो, तर भोलिपल्ट विद्यालय पनि नगएपछि खोजी गर्दा घरदेखि करिब डेढ सय मिटर टाढा नालीमा उनको शव फेला परेको थियो ।

ईशानका ठूला बुवा पुष्पराज शर्माका अनुसार घटनास्थलको अवस्था हेर्दा यो सामान्य दुर्घटना हुनै नसक्ने देखिन्छ । उनका अनुसार न त ब्रेक लागेको कुनै चिन्ह थियो, न त धुलो माडिएको । खुट्टामा लगाएको जुत्ता छुट्टै ठाउँमा र हातमा बोकेको जुत्ता अर्को स्थानमा भेटिनु आफैंमा शंकास्पद भएको उनी बताउँछन् । टाउको र आँखामा गहिरो चोट देखिएको भन्दै उनले यो सुनियोजित हत्या भएको दाबी गरे ।

ईशानका बुवा अर्जुन शर्माले पनि दुर्घटनाको नाममा सत्य लुकाउने प्रयास भइरहेको आरोप लगाए । उनका अनुसार घटनापछि मोबाइल फोनसमेत हराएको थियो, जुन भोलिपल्ट मात्रै अम्बाको बोटमुनि भेटिएको थियो । यी सबै प्रमाणले हत्या लुकाउन ‘डमी’ दोषी खडा गरिएको आशंका बलियो बनाएको उनको भनाइ छ ।

आमा रमा शर्माको पीडा झनै मार्मिक छ । “मेरो बुढेसकालको लठ्ठी भाँचियो, मेरो छोरो फर्किँदैन,” भन्दै उनी भक्कानिइन् । उनले दोषीलाई कारबाही नभएसम्म आफू चुप नबस्ने बताइन् र न्यायको माग गरिन् ।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रारम्भिक अनुसन्धानमा सवारी दुर्घटनाबाट मृत्यु भएको देखिएको छ । प्रहरी नायब उपरीक्षक सुरज कार्कीले लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिएको प्रारम्भिक विवरण आएको र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिए । घटनास्थल वरपरका सीसीटीभी फुटेज संकलन गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तर परिवार भने प्रहरीको निष्कर्षप्रति असन्तुष्ट छ । उनीहरू भन्छन्- “हामीलाई दोषी चाहिएको होइन, सत्य चाहिएको हो । अर्को इशान यो समाजमा मर्न नपरोस् ।” ईशानको मृत्युसँगै उठेका प्रश्नहरूले अहिले सिंगो समाजलाई झस्काएको छ । अब सबैको नजर अनुसन्धानको निष्कर्षमा टिकेको छ-यो दुर्घटना थियो कि योजनाबद्ध हत्या ?

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ११ : ४३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क