चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटेल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे । हतारिदैँ चोट लाग्ने गरी लखेटे । त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए । उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे ।
सोही अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिए । आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरे । माया मात्रै गरेनन्, सोही कुकुरलाई आफ्नो देश अमेरिका लैजाने निधो गरे ।
ती विदेशी पाहुनालाई व्यवस्थापनमा सहयोग पुर्याएका विनोद ढकालले उक्त कुकुर यसै साता अमेरिका पुगेको बताए । उनका अनुसार अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उनकी १६ वर्षीया छोरी म्याडिसनले कुकुरलाई प्रक्रिया मिलाएर अमेरिका लगेका हुन् ।
ढकालले भने, “कुकुरलाई पिट्दा रोएका ती आमाछोरीले अमेरिका लैजान्छौँ भनेपछि सबै प्रक्रिया पुर्याएर पठाएको हुँ । गत आइतबार त्यहाँ पुगेको खबर पाउँदा निकै खुसी लागेको छ ।”
गत जुनमा उनीहरू नेपाल आएका थिए । दुई साता सोही होटेलमा बस्ने क्रममा यो घटना भएको थियो । ढकालका अनुसार त्यतिबेला दुवै जना पूर्वनिर्धारित कार्यसूचीका कारण कुकुर रेखदेखका लागि एकजना व्यक्तिलाई जिम्मा लगाएर गएका थिए ।
उनले भने, “पशु चिकित्सकको परामर्शमा नियमित स्वास्थ्य परीक्षण गर्दै कुकुरलाई राखियो । पछि फिट टू फ्लाइटको अनुमति र पेट पासपोर्ट बनाएर कतार एयरलाइन्समार्फत कुकुरलाई पठाइयो । उक्त कुकुर अमेरिकाको कोलोराडोमा पुगेको छ ।”
कुकुर अमेरिका पुर्याउने सबै प्रक्रिया पूरा गर्दा अमेरिकन आमाछोरीले १० हजार अमेरिकन डलरभन्दा बढी खर्च गरेको ढकालले सुनाए ।
“मानिसलाई जनावरको माया कतिसम्म हुँदोरहेछ भन्ने उनीहरूबाट थाहा पाएँ । अमेरिका पुगेपछि दुई दिन क्वारेन्टिनमा राखेको खबर र स्वास्थ्य परीक्षण गरेर बाहिर हिँडाइएको तस्बिर र भिडियो पठाएपछि म पनि ढुक्क भएको छु”, ढकालले भने ।


















प्रतिक्रिया