बुटवल । विश्व विजयता अंग्रेजलाई जितेको थलो, आधा नेपाललाई व्यवसायिक सरसमान पुर्याउने शहर, पूर्वजहरुले नुनतेलको जोहो गर्ने बजार, पल्टनियाहरुलाई नेपाल फर्केपछि बास बसाल्ने शहर आदी ईत्यादी । बुटवललाई चिनाउने दर्जनौ विशेषण र बिशेषताहरु रहेका छन् । नेपालकै जेठो उद्योग ब्यापार संघ गठन गर्ने शहर पनि हो बुटवल ।
नेपालका पुराना नगरपालिकामध्ये कै एक नगरपालिकाकारुपमा स्थापित बुटवल उपमहानगरपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा पर्दछ । देशका प्रमुख राजमार्गहरू पूर्व-पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको सङ्गम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम संवत् २०१६ सालमा स्थापना भएको हो । सुरुमा बुटवल नगर पञ्चायत त्यपछि बुटवल खस्यौली नगर पञ्चायत त्यपछि बुटवल नगरपालिका हुँदै हाल बुटवल उपमहानगरपालिका लुमिबनी प्रदेशको प्रस्तावित आर्थिक राजधानी पनि हो ।
नेपाल सरकार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम संवत् २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उपमहानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पूर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका रहेको छन् र दक्षिणपट्टिको सिमानाका रूपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाउँपालिका रहेका छन् । तिनाउ नदीको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सियससम्म पुग्दछ भने न्यूनतम तापमान ७ डिग्री सेल्सिअससम्म पुग्ने गरेको रेकर्ड गरिएको छ । साबिक लुम्बिनी अञ्चलको प्रशासनिक सदरमुकामका रूपमा रहेको बुटवल उपमहानगरपालिका भित्रको जनसंख्या करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ । विक्रम संवत् २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुल जनसंख्या १,९४,३३५ रहेको छ । जसमध्ये ९४,८४९ जना पुरुष र ९९,४८६ जना महिला छन् । ९१.३१ प्रतिशत जनसङ्ख्या साक्षर रहेको बुटवलमा शिशु कक्षादेखि स्ताकोत्तर तहको अध्यापन गराउने शिक्षालयहरूको बाक्लो उपस्थिति रहेको छ । राज्यले घोषणा नगरेपनि बुटवल आफैमा शैक्षिक हवकारुपमा रहँदै आएको छ ।
बुटवलको ऐतिहासिक पृष्ठभूमिका बारेमा अध्ययन गर्दा नेपाल एकीकरण हुनुपूर्व पश्चिम नेपालमा बुटवल राज्यका रूपमा रहेको बुटवलको सिमाना पूर्वमा पाल्पा र नवलपरासी क्षेत्र र पश्चिमा प्युठानसम्म विस्तारित भएको पाइन्छ । बुद्धबली, बटौली, बटुवाल जस्ता अनेक नाममा पुकारिँदै आएको पुरानो बटौली नै अहिलेको सुन्दर र बस्नयोग्य बुटवल उपमहानगरपालिका बनेको छ ।
“समानता स्वाभिमान र अवसर बस्नयोग्य बुटवल सहर” भन्ने मुख्य नाराका साथ बुटवल उपमहानगरपालिकाले आवश्यक पूर्वाधार विकास तथा विस्तारका क्षेत्रमा आफ्नो वार्षिक नीति तथा कार्यक्रमलाई केन्द्रित गरिरहेको छ । त्यसको परिणामस्वरूप पश्चिम नेपालका थुप्रै लगानीकर्ताको लगानी अहिले बुटवल केन्द्रित भएर छिमेकी पालिकाहरूमा विस्तारित भइरहेको छ । कोभिड-१९ पछि व्यापार व्यवसायमा भित्रिएको खुला बजार तथा उपभोताको सोचमा आएको परिवर्तनका कारणले अनलाइन बजारको समेत विकास भइरहेको छ । नेपाली अर्थतन्त्रमा काठमाडौं, वीरगन्ज, पोखरापछि सशक्त प्रभाव पार्ने सहरका रूपमा पछिल्लो समयमा बुटवल आइरहेको छ । जनगणना २०७८ को नतिजाले पनि रूपन्देही बसाइँ सराइका लागि आन्तरिक रूपमा पहिलो गन्तव्य प्रमाणित गरेको परिवर्तित सन्दर्भमा बुटवलमा उपभोक्ताको मागलाई समेत हृदयगम गर्दै रात्रिकालीन सहरको आवश्यकता रहेको महसुस हुन्छ ।
वर्तमान समयमा बुटवलमा रात्रिकालीन सहरका लागि आवश्यक पर्ने सबै प्रकारका भौतिक पूर्वाधारले सम्पन्न कालिका पथ तयारी अवस्थामा रहेको छ । कालिका पथमा रातभर नै व्यवसाय सञ्चालन गर्न सकिने तवरको भौतिक र मानवीय जनशक्ति बुटवल रहेको कुरालाई यहाँका व्यावसायिक संस्थाहरूले बताइरहेको छन् । यद्यपि रातभर नै सञ्चालन गर्दा स्थानीय बासिन्दालाई असर पर्ने देखिएपछि पहिलो चरणमा राति १२ बजेसम्म र बजार क्षेत्रको बस्तीसँग आवश्यक सहकार्य र समझदारी शान्त तवरमा सञ्चालन हुने व्यवसायलाई दीर्घकालमा रातभर नै सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
सूर्यास्तपछि सामान्यतया मुख्य तथा व्यापारिक सडकको दायाँ बायाँ रहेका स्थानीय बिक्रेताहरूले आफ्नो मौलिक परम्परा एवं घरेलु उद्योगका उत्पादनसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगका उत्पादनलाई बिक्री वितरण गर्ने बजार नै रात्रिकालीन सहर हुन् । वर्तमान समयमा बुटवलमा यस प्रकारका सबै वस्तु तथा सेवा उपलब्ध हुनुको साथै यसका लागि आवश्यक पर्ने स्थानीय मौलिक कला तथा भौतिक पूर्वाधारको अनुकुल व्यवस्थापन रहेको छ ।
रात्रिकालीन सहरको अन्तर्राष्ट्रिय मापदण्डका अनुसार २४ सै घण्टा अत्यावश्यकीय सेवा प्रवाहमा कुनै पनि प्रकारको अप्ठ्यारो नभएको सहरलाई रात्रिकालीन सहर सञ्चालनका लागि कानुनसम्मत तरिकाबाट स्वीकृति दिने गरिएको अभ्यास रहेका छन् । रात्रिकालीन सहर सञ्चालन गर्नका लागि सुरक्षा व्यवस्थापन पहिलो चुनौती रहन्छ ।
बुटवलको सन्दर्भमा भारतसँगको खुला सिमानाले प्रत्यक्ष प्रभाव पार्न सक्ने दरिलो सम्भावना रहे पनि विज्ञान र प्रविधिको उच्चतम् प्रयोगबाट यो समस्या समाधान गर्न सकिन्छ । वर्तमान समयमा वैकल्पिक आम्दानीको उचित स्रोत प्राप्त गर्न नसकी स्नातक अध्ययन गर्ने उमेरका धेरै युवा वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका छन् । जसका कारण नेपालको पुँजी निर्माण प्रक्रिया आशातीत गतिमा अगाडि बढ्न सकिरहेको छैन ।
अर्थतन्त्र विषम परिस्थितिमा सञ्चालित भएको छ । कोभिड-१९ र प्रदेश राजधानीको स्थानान्तरणबाट बुटवलको व्यवसायिक गतिबिधिमा गम्भीर असर परेको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान अनियमित हुने गरेको छ । उल्लेखित कारणसँगै अव्यस्थित औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रका कारण रूपन्देहीमा निजी क्षेत्रको १० खर्बभन्दा धेरै लगानी जोखिममा परेको स्थानीय व्यवसायीहरु बताउँछन् । बुटवलको आर्थिक चलायमानलाई लयमा फर्काउने बलियो सूत्र र आवश्यकता रात्रिकालीन सहर र पर्यटनको प्रवद्र्धन नै हो । २०७८ सालदेखि बुटवलमा रात्रिकालीन सहरको सञ्चालनका बारेमा बहस सुरु भएको हो । यस बहसलाई व्यावहारिकतामा रूपान्तरण गर्न सक्ने रात्रिकालीन बजार सञ्चालन गर्न प्रस्ताव गरिएको कालिकापथमा न्यूनतम आधारभूत पूर्वाधारहरू तयार गरिएका छन् । जसका कारणले वर्तमान समयमा सो क्षेत्रमा व्यावसायिक गतिविधि बढिरहेको छ ।
रात्रिकालिन बजारको व्यवस्थापनका सन्दर्भमा स्थानीय सरकारले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न नसक्नु नै हो । यातायातको सहज पहुँच स्थापना, सबै प्रकारका व्यवसायीको सामूहिक उपस्थिति, इन्टरनेट र सञ्चारका अन्य माध्यमको गर्विलो बाक्लो उपस्थिति बनाउन अझै धेरै प्रयास गर्न आवश्यक छ ।
यस क्षेत्रमा सानादेखि तारेस्तरका होटल लजको व्यवस्थापन छ । सुविधा सम्पन्न मनोरञ्जन गृहका सेवामा विस्तार, बैङ्क तथा वित्तीय कारोबारका लागि शाखा कार्यालयहरूको सहज पहुँच, प्रशस्त पार्किङ सुविधासहितको खुला सडक, मुख्य राजमार्ग र भित्री सडकहरूबाट सजिलै पुग्न सकिने अवस्था छ । निजीक्षेत्रले व्यवस्थापन गर्नुपर्ने जनशक्ति सजिलै व्यवस्थापन गर्न सकिने आधारहरू, आपत्कालीन अवस्थामा सबै सहायक मार्गहरूबाट सजिलै राहत र उद्धारका कार्य गर्न सकिने गरी सडकको पर्याप्त व्यवस्थापन भएको छ । निजी क्षेत्रले यस क्षेत्रलाई रात्रिकालीन सहर बनाउनका लागि अहिलेसम्म पूर्वाधारमा मात्र ४१ अर्ब बराबरको लागानी गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रमको रोजगार प्रवर्धन अन्तर्गत वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहल गर्ने र विद्यार्थीहरूका लागि कमाउँदै पढ्दै गर्ने कार्यक्रमलाई निरन्तरता दिनका लागि पनि रात्रिकालीन बजार उपयुक्त विकल्प हो ।
रात्रिकालीन सहरका लागि बुटवल उपमहानगरपालिकाले गरेको प्रयास
उपमहानगरले रात्रिकालिन बजारको व्यवस्थापनलाई लक्षित गर्दै देहय बमोजिमको निर्णय गरिसकेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९-८० का लागि तयार गरिएको वार्षिक नीति तथा कार्यक्रमको उद्योग, वाणिज्य तथा पर्यटन प्रवर्धन प्रकारको प्रयास गर्ने उल्लेखित थियो । ‘बुटवलको आर्थिक गतिविधिलाई थप चलायमान बनाई बजारलाई गुल्जार गर्न आवश्यक र समयको मागसमेत भएको हुँदा कालिकापथ, अमरपथ र राममन्दिरपथलगायतको क्षेत्रमा प्रशासनिक निकायहरूसँगको समन्वय र साझेदार संस्थाहरूको सहकार्यमा रात्रिकालीन बजार सञ्चालनको व्यवस्थापन मिलाइनेछ ।’ उपमहानगरको नीति तथा कार्यक्रममा लेखिएको थियो ।
दिवाकालीन बजार जस्तै रातको समयमा पनि उत्पादन र उपभोगका सबै प्रकारका आर्थिक कारोबार सहज तरिकाले सञ्चालन हुने बजार नै रात्रिकालीन बजार हो । रूपन्देहीको परिवर्तित आर्थिक सामाजिक पूर्वाधार विस्तारको गति र यसले सिर्जना गरेको आर्थिक वातावरणका आधारमा बुटवल उपमहानगरपालिकाको कालिकापथमा रात्रिकालीन सहर सञ्चालनका लागि आवश्यक सबै आधारहरू तयारी अवस्थामा रहेको छ । यसलाई दिगो, मर्यादित एवं व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि सरोकारवालाहरू बिचमा साझा प्रतिबद्धता र सामूहिक नेतृत्वको जरुरी छ ।

















प्रतिक्रिया